Monday, May 30, 2016

म्याग्दीका गाउँले ट्वीटर र स्काइपमा रम्दै

socialmediamoderationम्याग्दी, १८ जेठ । एक दशक अघिसम्म सूचना आदानप्रदानका लागि कटुवाल, मुखिया र हुलाकीको भर पर्ने गरेको म्याग्दी जिल्ला सूचना प्रविधिको क्षेत्रमा फड्को मार्न सफल भएको छ ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र स्काइप अब म्याग्दीका सर्वसाधारणका लागि नयाँ विषय रहेनन् । महावीरले सुरु गरेको इन्टरनेट सञ्जालको पहुँच जिल्लाका गाउँगाउँ र विद्यालयसम्म पुगेको छ । म्याग्दीका नागी, टिकोट, शिख, घार, पाउद्वार, नारच्याङ, भुरुङतातोपानी, कुहुँ, विम, निस्कोट, दरबाङ, बाबियाचौर, पात्लेखेत, पाखापानी, ताकम र चिमखोला गाउँ र त्यहाँ रहेका विद्यालयमा इन्टरनेट विस्तार गरिएको छ । पछिल्लो समय इन्टरनेट विस्तारका लागि सम्बन्धित गाविसले पनि बजेट विनियोजन गर्दै गएपछि ग्रामीण भेगमा यसको पहुँच बढ्न सकेको बताइएको छ

राम्चे–१ नागीका ५८ वर्षीय दिलबहादुर तिलिजा विदेशमा रहेका छोरा र छोरीज्वाइँसँग स्काइपमा कुराकानी गर्नुहुन्छ । उहाँका छोरीज्वाइ नौ वर्षदेखि सिङ्गापुरमा छन् । एउटा छोरा जापानमा अध्ययन गर्दैछन् । जापान र सिङ्गापुर भूगोल र दूरीले मात्र टाढा रहे, उहाँका लागि । सञ्चो–विसञ्चोको हालखबर मात्र होइन परदेशको काम र खानपिनले मोटाएको अथवा दुब्लाएको शरीर समेत एकै बसाइमा हेर्न सकिन्छ ।

‘मान्छे नै छर्लङग देख्ने भएपछि विदेशमा रहेको अनुभूति पनि हुँदैन, यता र उताको फुर्सद मिलाएर कुराकानी गर्छौं,’ तिलिजा भन्नुहुन्छ “गाउँमै बसेर यस्तो सुविधा पाइएला भनेर सोचेकै थिएन ।” उमेर ढल्किँदै गएपनि उहाँले स्काइपसँगै फेसबुक र ट्वीटर अकाउण्ट खोल्नुभएको छ । “अधिकांश कुरा मोबाइलबाट पनि हुन्छ, तर यसबाट झन् धेरै फाइदा हुँदोरहेछ, गाउँका अरु बूढाबूढीलाई अकाउण्ट खोल्न आग्रह गरेको छु, ” उहाँले भन्नुभयो ।

जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको पैदलदूरीमा पुग्न सकिने नागीका सर्वसाधारणको इन्टरनेटमा पहुँच बढ्दो छ । खासगरी सामाजिक कार्यकर्ता महावीर पुनले गाउँमा बेतारे इन्टरनेटको सञ्जाल विस्तार गर्न सफल भएपछि यस्तो सम्भव भएको म्याग्दीका क्रियाशील पत्रकार गोपाल छन्त्यालले बताउनुभयो ।

ग्रामीण भेगमा इन्टरनेट विस्तारका लागि महावीरले कास्कीको पोखराबाट समुद्री सतहदेखि तीन हजार ३०० मिटरमा अवस्थित राम्चेकै मोहरेडाँडामा रिले स्टेसन निर्माण गरेका छन् । त्यसलाई मुख्य स्टेसन बनाई शिखको खोप्रालेक र म्याग्दीको कुहुँस्थित टोड्केमा अर्को रिले स्टेसनमार्फत इन्टरनेटको सञ्जाल विस्तार गरिएको छ ।

खोप्रालेकबाट उत्तरभेग र टोड्केबाट जिल्लाका लगभग पूरै क्षेत्रमा यो सेवा विस्तार गर्न थालिएको छ । नागीको हिमाञ्चल उच्च मावि, पाउद्वार मावि पाउद्वार, प्रभा मावि नारच्याङ, शिख उच्च मावि शिख, मुक्तिमार्ग उच्च मावि घार, सूर्योदय उच्च मावि भुरुङतातोपानी, किसानी उच्च मावि विम, निस्कोट मावि निस्कोट, जनप्रिय उच्च मावि दरबाङ, राष्ट्रिय जनजागृति मावि कुहुँलगायतका विद्यालयका विद्यार्थीले यहि इन्टरनेटमार्फत नयाँ र ताजा सूचना र ज्ञान उपभोग गरिरहेका छन् ।

इन्टरनेटको विकासले गाउँमा सूचना, ज्ञानको विकास र खबर आदानप्रदानमा धेरै सहज भएको हिमाञ्चल उच्च माविका कम्प्युटर शिक्षक किसान पुन बताउनुहुन्छ ।

विद्यालयमा अहिले कक्षा ६ देखि १२ सम्म अनिवार्य कम्प्युटर शिक्षा लागू गरिएको छ । जिल्लाका ७० सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सुरु भएको र अधिकांश विद्यालयमा वायरलेस इन्टरनेटको पहुँच पुगेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क छ । धु्रवप्रसाद शर्मा/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts