नेपालगन्ज, १७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री धवलशम्शेर राणाले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जनताको विकास निर्माणको काम प्रभावित हुने गरेको बताउनु भएको छ ।
सो दलको बाँके जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उहाँले भन्नुभयो–“स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा कर्मचारीबाट सम्पादन गरिने विकास निर्माणका काम गुणस्तरहीन हुने गरेको छ ।”
वर्तमान सरकारले ढिला नगरेर राजनीतिक दलको सहमतिमा स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै महामन्त्री राणाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने हो भने जनताले आप्mनो घरदैलोमा सरकार भएको अनुभूति गर्नुपर्छ भन्नुभयो ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले यदि कसैले जनतालाई ठग्ने गरी विकासे योजनामा हिनामिना गर्छ, जनताको कामलाई निरन्तर अल्झाउने अवस्था सिर्जना गर्छ भने आप्mनो दल त्यसका विरुद्ध आन्दोलन गर्न पनि पछि नपर्ने बताउनुभयो ।
महामन्त्री राणाको थप भनाइ थियो—‘सरकार परिवर्तन अहिलेको आवश्यकता होइन, सरकारले जनपक्षीय काम गर्न सक्यो वा सकेन त्यो बहसको विषय बन्नुपर्छ ।’ रासस
No comments:
Post a Comment