काठमाडौँ, ११ जेठ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले आज टर्कीको इस्तान्वुलमा भएको ‘दैवी प्रकोप र जलवायु परिवर्तन, फरक तरिकाले जोखिम र सङ्कटलाई व्यवस्थापन गर्दा’ विषयक उच्चस्तरीय राउन्डटेबल बैठकको सहअध्यक्षता गर्नुभयो ।
यो बैठक विश्व मानवीयता शिखर सम्मेलनअन्तर्गतका सातमध्येको एक बैठक थियो ।
सो अवसरमा बोल्दै उपप्रधानमन्त्री थापाले गत वर्ष नेपालले विनाशकारी भूकम्पपश्चात् उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका क्रममा सिकेका पाठहरु सहभागीबीच प्रस्तुत गर्नुभएको थियो ।
उहाँले नेपालमा राष्ट्रिय अनुकूलन कार्ययोजना, स्थानीय अनुकूलन कार्ययोजना, वातावरणीय नीति तथा कार्यक्रम र उच्चस्तरमा वातावरणीय तथा जलवायु परिवर्तन परिषद् रहेको पनि विश्वका नेताहरुलाई अवगत गराउनुभयो ।
उपप्रधानमन्त्री थापाले नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणका लागि वित्तीय स्रोत, स्थानीयस्तरमा उपयुक्त प्रविधि र नवीन खोजको आवश्यकता हुने पनि बताउनुभयो ।
उहाँले प्रकोपको पूर्वतयारीका लागि बढी लगानी आवश्यक पर्नेमा पनि जोड दिनुभयो ।
राउन्ड टेबलको संयोजन गर्नुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले उपप्रधानमन्त्री थापाले सम्बोधन गर्नुभएपछि नेपालले भूकम्पपश्चात् गरेको शीघ्र समन्वयात्मक कार्यको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा अन्य सहअध्यक्षमा नाउरुका राष्ट्रपति, केन्याका उपराष्ट्रपति तथा इथियोपियाका उपप्रधानमन्त्री हुनुहुन्थ्यो ।
राउन्ड टेबलमा परराष्ट्र सचिव शङ्करदास वैरागी पनि सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमको सीमान्त समयमा उपप्रधानमन्त्री थापाले स्वेडेनका विदेशमन्त्रीसँग भेट गरी द्विपक्षीय सहयोगबारे छलफल गर्नुभएको थियो ।
उपप्रधानमन्त्री थापा आजै इजरायलको दुईदिने भ्रमणका लागि प्रस्थान गर्नुहुने र उहाँले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । रासस
––––––
No comments:
Post a Comment