नेपालगन्ज, ११ जेठ । बाँकेको राझा–जमुनहा चार लेन र छ लेनको साढे १० किलोमिटर सडकखण्ड कालोपत्र र सतही नाला निर्माणमा व्यापक अनियमितता भएको जनस्तरबाट गुनासा आएपछि जिल्ला प्रशासन कार्यालयले त्यसको छानबिन गर्ने भएको छ ।
नागरिकस्तरका सबै तहबाट यो निर्माण अत्यन्त गुणस्तरहीन भएको भन्ने गुनासा आएपछि बाँकेका प्रजिअ रविलाल पन्थले अनियमितताको छानबिन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“यो सडक र नाला निर्माणका विषयमा के कति अनियमितता भएका छन्, यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो व्यक्त गरेको छ”–प्रजिअ पन्थले रासससँग भन्नुभयो ।
आयोगबाट सिनियर डिभिजलन इन्जिनियर, अनुसन्धान अधिकृत र अर्का अनुसन्धान अधिकृतको टोलीले केही दिनअघि सो सडक निर्माणसम्बन्धी कामको स्थलगत अनुगमन गरेको थियो । “टोलीले अनुगमन सकेर काठमाडौँ फर्केको छ, हामीले पनि स्थानीय तहबाट अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ’–यहाँस्थित आयोगको क्षेत्रीय सम्पर्क कार्यालयका प्रमुख दीपक थापाले भन्नुभयो ।
सो सडकको निर्माण समयमा नगरिएको लटरपटर काम गरी ९८ प्रतिशत काम सकेको भनिएको, पप्पु निर्माण कम्पनी सरोकारवाला निकायलाई प्रभावमा पार्न भोजभतेरमा लागेको आरोप लगाउँदै आज यहाँका विद्यार्थी सङ्गठन, नागरिक समाज र भ्रष्टाचारविरुद्ध सक्रिय संस्था, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीले प्रजिअ पन्थलाई सो सम्बन्धमा आवश्यक कारबाहीका लागि ज्ञापनपत्र बुझाएका छन् ।
“ज्ञापनपत्रका आधारमा सडकको निर्माणको लागत अनुमानअनुसार भएको छ कि छैन, अनुगमनको प्रक्रिया के छ ? मैले यहाँस्थित सडक डिभिजन कार्यालयलाई पत्र लेखेको छु”–प्रजिअ पन्थले भन्नुभयो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु निर्माण कम्पनीले ठेक्का सकारेको सडक र नालाको निर्माण तीन वर्ष भइसक्दा पनि पूरा हुन सकेको छैन भने निर्माण गरिएको सडक र नाला ठाउँठाउँमा भत्किएको, खाल्डाखुल्डी परेको, सामान्य वर्षाको पानी पनि जम्ने गरेको देख्न सकिन्छ ।
पप्पु निर्माण कम्पनीले रु ६२ करोडमा निर्माण गर्न दुई वर्षअघि सो सडक र नाला निर्माणका लागि ठेक्का सकारेकोमा कबोलअनुसार काम नगरेको भनी महिनौदेखि यहाँ आन्दोलन र विरोध भइरहेको छ ।
“नेपालगन्ज उद्योग वाणिज्य सङ्घले सडक डिभिजन कार्यालयलाई पत्र काटेर सडक र नाला निर्माणमा अनियमिता गर्ने पक्षलाई कारबाही गर्न समेत आग्रह गरेको हो, तर पनि सरोकारवाला निकाय मौन भएपछि थप आन्दोलनको खाँचो देखिएको हो”–सङ्घका अध्यक्ष कृष्ण श्रेष्ठले भन्नुभयो । रासस
No comments:
Post a Comment