काठमाडौँ, १९ वैशाख । स्वदेशमै रोजगारी र आर्थिक समृद्धिको माग गर्दै खुलामञ्चमा विगत पाँच दिनदेखि आमरण अनशनमा बसेका युवाको माग सम्बोधन गर्न विभिन्न सरोकार भएका व्यक्तिले सरकारसँग आग्रह गरेका छन् ।
विभिन्न राजनीतिक दल, भातृ सङ्गठन, सङ्घसंस्थाले आमरण अनशनस्थल नै पुगेर ऐक्यबद्धता जनाएका छन् । अनशनरत युवाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै उनीहरुले तत्काल माग सम्बोधन गर्नसमेत उनीहरुले माग गरेका छन् ।
योग्यता, सीप र दक्षताअनुसारको रोजगारीको ग्यारेन्टी, रोजगारी दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिनुपर्ने, बेराजगार भत्ताको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर १२ युवा बुधबारदेखि खुलामञ्चमा आमरण अनशनमा छन् ।
अभियानका संयोजक चन्द्रबहादुर थापा ‘सागर’को नेतृत्वमा अनुषा राई, जिविता आचार्य, ज्ञानदेवी विष्ट, मञ्जु गौतम, लक्ष्मी स्याङ्तान तामाङ, दावा शेर्पा, अजित झा, भरत लामिछाने, निरज पुन, रियाज पौडेल र महेश नेपाल आमरण अनशनमा हुनुहन्छ ।
माग सम्बोधन हुनुपर्छ ः अध्यक्ष दाहाल
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले आमरण अनशनमा बसेका युवाको माग तत्काल सम्बोधन हुनुपर्ने बताउनुभएको छ ।
विदेश जानु नपरोस् र देशभित्रै रोजगारी पाइयोस् भनेर अनशन बस्नेको माग जायज भएकाले त्यसको सम्बोधन गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।
‘विदेशमा गएर समस्या भोग्नु परिरहेका अवस्थामा स्वदेशमै रोजगारी पाउनुपर्ने माग गरेर युवाले आमरण अनशन बस्नुपर्ने अवस्था छ’ १२७औँ मजदुर दिवसका अवसरमा शान्तिबाटिकामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो– “अनशन जायज छ, अनशनकारीको माग सम्बोधन हुनुपर्छ ।” विप्रेषणबाट मुलुक चलाउने पद्दतिको अन्त्य गर्नुपर्ने र त्यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।
यस्तै, पूर्व मुख्यसचिव लीलामणि पौडेलले रोजगारीको माग गर्दै अनसनमा बसेका युवाको माग सम्बोधन गर्न आग्रह गर्नुभयो । अनशनप्रति ऐक्यबद्धता जनाउन खुलामञ्च पुग्नुभएका पौडेलले विगत पाँच दिनदेखि अनशन बसेकाको स्वास्थ्य बिग्रँदै गएकाले तत्काल सरकारले पहल नगरे जीउज्यानको सुरक्षामा खतरा हुने देखिएको हुँदा शीघ्र स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
साथै, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रमेश मल्ल, नयाँ शक्ति अभियानका देवेन्द्र पौडेल, खिमलाल देवकोटा, अष्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत लक्की शेर्पा, पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर यादव, केन्द्रीय सदस्य कौशलेन्द्र शर्मालगायतले पनि ऐक्यबद्धता जनाउनुभएको छ ।
त्यस्तै, मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपाने, राष्ट्रिय जागरण अभियानका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने पनि आमरण अनशनमा ऐक्यबद्धता जनाउनुभएको संयोजक थापाले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment