काठमाडौँ, २३ वैशाख । ‘जातीय विभेदविरूद्ध क्रियाशील पत्रकारिता पुरस्कार–२०७३’ गोरखापत्र दैनिकका सम्पादक त्रिभुवनचन्द्र वाग्लेलाई प्रदान गरिएको छ ।
प्रथम राष्ट्रिय पत्रकारिता दिवस–२०७२ का अवसरमा दलित अधिकार तथा विकास केन्द्र नेपालले स्थापना गरेको सो पुरस्कारलाई नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले प्रदान गर्नुभयो ।
काउन्सिल र केन्द्रले यहाँ आज आयोजना गरेको ‘छुवाछूतरहित समाज निर्माणका लागि मिडियाको भूमिका’ विषय अन्तक्र्रियामा सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु पाँच हजार ५५५ रहेको छ ।
अन्तक्र्रियामा कार्यपत्र प्रस्तुत गर्दै पत्रकारद्वय घमराज लुइँटेल र जेवी विश्वकर्माले समाजमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्नका लागि आम सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । काउन्सिलका अध्यक्ष कार्कीले जातीय विभेद अन्त्य गर्न दलित समुदायले मात्रभन्दा पनि गैरदलित समुदायकै अगुवाइमा चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
केन्द्रका अध्यक्ष मेघेन्द्र विश्वकर्माले सहभागिता र विषयवस्तुका आधारमा नेपाली सञ्चारमाध्यम समावेशी हुनुपर्ने धारणा राख्नुभयो । रासस
No comments:
Post a Comment