काठमाडौँ, २२ वैशाख । राष्ट्रिय सूचना आयोग आठौँ वर्षमा प्रवेश गरेको छ ।
विसं २०६६ वैशाख २२ गते सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार आयोगको स्थापना भएको थियो । आयोगको स्थापनापछिका आठ वर्षमा दुई हजार ५०० भन्दा बढी सूचना अधिकारी तोक्न लगाइएको आज आठौँ स्थापना दिवसका अवसरमा आयोजित जलपान कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा कामु प्रधानन्यायाधीश सुशीला कार्कीले सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सार्वजनिक महत्वको सूचना दिने संस्कारको विकास गरिनुपर्ने बताउनुभयो । “ऐनमा व्यवस्था भएअनुसार सार्वजनिक निकायले तीन महिनामा आफूले गरेका कामको विवरणको सूचना सार्वजनिक गर्नुपर्छ”– उहाँले भन्नुभयो ।
आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले निर्वाचन आयोगमा दर्ता भएका १८० राजनीतिक दल र सार्वजनिक निकायलाई तीन महिनामा सूचना सार्वजनिक गर्न पत्राचार गरिएको जानकारी दिनुभयो । “कक्षा ६ देखि १० सम्म सूचनाको हकसम्बन्धी पाठ्यक्रम बनाउने निर्णय सरकारले गरेको छ, आयोगको स्थापनापछि सूचना माग्ने संस्कृति बढेको छ”– उहाँले भन्नुभयो ।
सङ्घीयताअनुसार सबै प्रदेशमा प्रादेशिक आयोग स्थापना गरिनुपर्ने पनि उहाँले बताउनुभयो ।
सो अवसरमा आयोगको तीनमहिने प्रतिवेदन र सूचनाको हकको प्रचलनसम्बन्धी जिल्लास्तरीय प्रतिवेदन पनि कामु प्रधानन्यायधीश कार्कीले सार्वजनिक गर्नुभएको थियो । रासस
No comments:
Post a Comment