Sunday, May 8, 2016

विश्व रेडक्रस दिवस विविध कार्यक्रमका साथ सम्पन्न

redcrossरेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको जन्म दिन मे ८ पारेर मनाइने विश्व रेडक्रस दिवस आज “रेडक्रस : सबै ठाउँमा, सबैका लागि” भन्ने सन् २०१६ को नाराका साथ नेपालमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विश्वका १९० राष्ट्रहरुमा आजैका दिनमा यो दिवस मनाइन्छ ।
रेडक्रस अभियानका तीन अंगहरुका प्रमुखहरुको सहभागितामा आज विहान नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा झण्डोत्तोलन गरी कार्यक्रम शुरु गरिएको थियो । त्यसपछि, रत्नपार्क शान्तिवाटिकाबाट शुरु भएको र्यालीले शहरका विभिन्न भागको परिक्रमा गरी पुनः शान्तिवाटिकामा नै पुगेर मञ्चको कार्यक्रम शुरु गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष थापाले भन्नुभयो ः “रेडक्रस अभियान भूकम्प प्रभावितहरुलाई थप सहयोग गर्न आतुर छ, यसका लागि सरकारबाट छिटो निकास हुने अपेक्षा गरेकाछौँ ।”
महामन्त्री देवरत्न धाख्वाले भन्नुभयोः “गत आर्थिक वर्षमा मात्र विपद् प्रभावित तथा विकासमूलक कार्यक्रमबाट ८० लाखभन्दा बढी मानिस लाभान्वित भएका छन् । नेरेसोको सातौं रणनीतिक विकास योजना (सन् २०१६ देखि २०२० सम्म) ले निर्दिष्ट गरेबमोजिम सामुदायिक उत्थानशीलताको लागि बृहत साझेदारी गर्न संस्था सधैँ तत्पर छ ।”
धेरै चूनौतिका वावजूद पनि नेपालमा रेडक्रस अभियान र नेपाल रेडक्रस सोसाइटीले गरेका विपद् व्यवस्थापन, स्वास्थ्य सुधार, रेडक्रसको मूल्य मान्यताको प्रवद्र्धनलगायतका उदाहरणीय कामको प्रशंसा गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी)का नेपाल प्रमण्डल प्रमुख ड्रागना कोजिकले भन्नुभयोः “भूकम्प प्रभावितहरुको सहयोगका लागि उदाहरणीय काम गरेका नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरुप्रति नतमस्तक छौँ ।”
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ नेपाल कार्यालयका कार्यवाहक प्रमुख माइक हिगिन्स्ले रेडक्रस अभियानको संयुक्त विज्ञप्ति पढेर सुनाउनु भएको थियो । सो क्रममा हिगिन्स्ले भन्नुभयोः “युद्ध, प्राकृतिक विपत्ति, विकास र शान्ति सबै परिस्थितिमा विगत १ सय ५३ बर्षदेखि क्रियाशील अन्तर्राष्ट्रिय रेडक्रस अभियानले पारस्परिक सहयोग र समझदारीका आधारमा आफ्ना सेवाहरू निरन्तर प्रदान गर्दै आएको छ ।”
काठमाडौ जिल्ला शाखाको आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला शाखाका सभापति मथुराराम श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा विश्व रेडक्रस दिवसमा सन्दर्भमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । चित्रकला प्रतियोगितातर्फ विरेन्द्र सैनिक महाविद्यालय भक्तपुरका सुजल फैजू प्रथम, नवज्योति उच्च माध्यमिक विद्यालय कोटेश्वरका रोमन चौधरी द्धितीय र आदर्शज्योति विद्यालय सूर्यविनायक भक्तपुरका कृष्मा दुवाल तृतीय हुनुभएको थियो ।
त्यस्तै निवन्ध प्रतियोगितातर्फ श्रमिक शान्ति उच्च माध्यमिक विद्यालय च्यासल ललितपुरका सुरेश धमला प्रथम, नागार्जुन एकाडेमी, ललितपुरका अनुष्का चौलागाईँ द्धितीय र आदर्श कन्या माध्यमिक विद्यालय ललितपुरकै अम्बिका सुनार तृतीय हुनुभएको थियो ।
कार्यक्रममा भूकम्प प्रभावितहरुको सहयोगका लागि नेपाल रेडक्रसलाई विगत एक वर्षदेखि आफ्नो अमूल्य घर जग्गा निःशुल्क रुपमा प्रदान गर्नुहुने ताहाचल काठमाडौँका श्याम मिलन श्रेष्ठ, रमेश मिलन श्रेष्ठ र विनोद तुलाधरलाई सम्मान गरिएको थियो । श्याम मिलन श्रेष्ठ र रमेश मिलन श्रेष्ठले ताहाचल सोल्टी होटल छेउको ६ रोपनी जमिन रव हल निर्माणका लागि एक वर्षसम्म निःशुल्क रुपमा प्रदान गर्नुभएको थियो । यस कार्यको संयोजन ताहाचलकै दशरथ रिसालले गर्नुभएको थियो । त्यस्तै ताहाचलकै विनोद तुलाधरले गोदामका लागि आफ्नो घर रेडक्रसलाई निः शुल्क प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा गतवर्ष अन्तर्राष्ट्रिय रुपमा आयोजना गरिएको सुरक्षित पहुँचसम्बन्धी चित्रकला प्रतियोगितामा नेपालबाट जेनेभामा चित्र पठाई सहभागिता गर्नुहुने स्वस्तिका प्रधान र सुनिता दाहाललाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
विश्व रेडक्रस दिवसकै सन्दर्भमा आयोजित रक्तदान कार्यक्रममा १२ जना महानुभावहरुले रक्तदान गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts