जिरी, २६ वैशाख । दोलखाको जिरी नगरपालिकामा रहेको पूर्वी पहाडी क्षेत्रकै एक मात्र प्राविधिक शिक्षालय जिरी प्राविधिक शिक्षालयको सरकारी बेवास्ताका कारण अझै पुनःनिर्माण हुन सकेको छैन ।
भूकम्प गएको एकवर्ष बित्न लाग्दा समेत पुनःनिर्माणको काम सुरु नभएपछि अझै विद्यार्थी टहरामै बसेर पढ्न बाध्य भएका छन् । शिक्षालयको आवासगृह समेत समस्याग्रस्त छ ।
विसं २०४० मा स्वीस सरकारले गाउँघरकै काठपात प्रयोग गरी बनाएको यो प्राविधिक शिक्षालयको ६० वटा भवन पूर्णरुपमा ध्वस्त भएको शिक्षालयका लेखाप्रमुख मीन बस्नेतले बताउनुभयो । उहाँले हालसम्म सरकारीस्तरबाट पुनःनिर्माणका लागि कुनै पनि पहलकदमी नभएको भन्दै ६ वटा टहरा निर्माण गरी विद्यार्थीलाई पढाइरहेको जानकारी दिनुभयो ।
आफूहरुले भवन पुनःनिर्माणका लागि रु २५ करोड बराबरको लागत अनुमान सरकारलाई बुझाइसकेको तर सरकारले आफूहरुलाई स्वीस सरकारले बनाइदिने आश्वासन मात्र दिएको उहाँको गुनासो छ ।
लेखा प्रमुख बस्नेतले जिरी प्राविधिक शिक्षालयले सिटिइभिटीलाई, सिटिइभिटीले शिक्षा मन्त्रालयलाई, शिक्षाले अर्थमन्त्रालयलाई र अर्थले पनि स्वीस सरकारलाई आवश्यक सहयोग गरिदिन पत्र पठाएको आफूले जानकारी पाएको र स्वीस सरकारबाट कुनै पनि आधिकारिक धारणा नआइसकेको बताउनुभयो ।
यस्तै सरकारीस्तरबाट यो वर्षका लागि पुनःनिर्माणको कार्य प्राथमिकतामा नपरेको भवन निर्माण कार्यालय दोलखाले जनाएको छ । यता विद्यार्थी भन्छन् – सरकारकै सम्पत्तिमा उसको आँखा नपर्नु दुःखको कुरा होे ।
स्वीसले जिरीमा आएर बेसिक सर्भे, माटो परीक्षण र मास्टरप्लान बनाइसकेको भए पनि कहिलेबाट र कसरी बनाउने भन्ने ठोस धारणा आफूहरुले नपाएको शिक्षालयको भनाइ रहेको छ । विदेशी सहयोगको भरपरी सरकारले पुनःनिर्माणको पक्षमा केही सहयोग नगरेको शिक्षालयको आरोप रहेको छ ।
आवासको समस्याकै कारण धेरै शिक्षकलाई विद्यालयमा ल्याउन समस्या भएको शिक्षालयका प्रमुख विष्णुहरि अधिकारीको भनाइ छ । उहाँले हाल प्राविधिक शिक्षालयकै पहलमा सामान्य मर्मत सम्भार गरी जोखिम मोलेरै शिक्षक र विद्यार्थी बसिरहेको बताउनुभयो । केही प्रतिशत सरकारले रकम हालिदिएमा आफूहरुलाई सहज हुने उहाँको भनाइ छ ।
भौतिक संरचनाको अभावकै कारण यस अघि नै हुनुपर्ने परीक्षा स्थगित गरी मङ्सिरमा सञ्चालन गर्ने तयारी भइरहेको शिक्षालयले जानकारी दिएको छ । अस्थायी टहरामा बसेर पढ्नभन्दा पनि बस्न सबैभन्दा बढी समस्या भएको सोही शिक्षालयमा अध्यनरत निशा कार्कीको भनाइ छ । बजारमा पनि राम्रो कोठा नपाइने र शिक्षालयभित्र पनि सबै अस्तव्यस्त भएकै कारण धेरै विद्यार्थी समस्यामा परेको कार्की बताउनुहुन्छ ।
स्थायी संरचना नभएकै कारण विद्यार्थीले प्रयोगशालाको उपयोग गर्नसमेत समस्या भइरहेको छ । हाल यस शिक्षालयमा ३३ आँै समूहले अध्ययन गरिरहेको छ । सो विद्यालयमा अहिले ५२० जना विद्यार्थी अध्ययनरत छन् । शिक्षालयमा हाल २९ महिने अनमी, सवओभरसियर, कृषि डिप्लोमा र भेटेनरी डिप्लोमाको पढाइ भइरहेको छ ।
जिरीका स्थानीय टङ्कबहादुर जिरेलले जिरी प्राविधिक शिक्षालयको पुनःनिर्माण स्वीस सरकारले गरिदिने विश्वासमा आफूहरु रहेको बताउनुहुन्छ । यहाँ करिब २० जिल्लाका विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । गोकर्ण भण्डारी/रासस
No comments:
Post a Comment