Sunday, May 8, 2016

चिसापानीमा निकुञ्जको जग्गा मिचेर होटल

चिसापानी (काठमाडौँ), २६ वैशाख । काठमाडौँ, सिन्धुपाल्चोक र नुवाकोटको सङ्गमस्थलमा रहेको पर्यटकीयस्थल चिसापानीमा गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि सार्वजनिक जग्गा मिचेर ‘रिसोर्ट’ खोल्ने क्रम बढेको छ ।
चिसापानी काठमाडौँको गोकर्णेश्वर नगरपालिका, सिन्धुपाल्चोकको हैबुङ गाविस र नुवाकोटको तलाखु गाविसको सीमासँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्छ । यो बाटो भएरै विदेशी पर्यटक गोसाइँकुण्ड, लाङटाङ, पाँचपोखरी, मेलम्ची, नगरकोट, भोटेचौर चियाबगान र हेलम्बु लगायत पर्यटकीयस्थलमा पदयात्राम जाने भएकाले यहाँ होटल एवम् रिसोर्ट व्यवसाय फस्टाएको छ ।

काठमाडौँ उपत्यकाबाट नजिक भएकाले आन्तरिक र बाह्य दुवै थरिका पर्यटक जाने चिसापानीमा गत वर्ष वैशाख १२ गतेको भूकम्पले सबै होटल र रिसोर्ट भत्केका थिए । भत्केका होटल र रिसोर्ट बनाउने क्रममा निकुञ्जको जग्गा समेत मिचेर संरचना बनाउन सुरु गरिएको निकुञ्ज कार्यालय बुढानीलकण्ठले जनाएको छ ।

कार्यालयका अनुसार नुवाकोटको तलाखु गाविस क्षेत्रमा बनेका होटल र रिसोर्टले बढी सार्वजनिक एवम् निकुञ्जको जग्गा अतिक्रमण गरेका छन् । “तलाखु गाविस–१ को होटल दर्पण, चिसापानी माउन्टेन भ्यु, गोल्डेन सनराइज भ्यु, होटल ग्यालेक्सी, अहिले छाप्रोमा सञ्चालन भइरहेको होटल अन्नपूर्ण, होटल प्याराडाइज, होटल बिबिसी र अन्य ३० वटा छाप्रामा सञ्चालित साना होटलले निकुञ्ज मध्यवर्ती क्षेत्रको जग्गा अतिक्रमण गरेका छन्”– कार्यालय प्रमुख कमलजङ्ग कुँवरले रासससँग भन्नुभयो ।

सिन्धुपाल्चोक, हैबुङ गाविसपट्टिको भागमा पूर्ण तामाङको रिसोर्टले पनि निकुञ्ज मध्यवर्ती क्षेत्रको जग्गा मिचेको छ । वरिपरिका डाँडा देखिने रमणीय अग्लो स्थानमा रहेको चिसापानी सिन्धुपाल्चोकको हैबुङ, थकनी र नुवाकोटको तलाखु गाविसको बिसौनी, तलाखे, बतासे लगायत दुई हजार भन्दा बढी घरधुरीको पानीको स्रोत भएको स्थान पनि हो । सरकारले गत चैत १५ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर यस क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरेको निकुञ्ज कार्यालयका रेञ्जर लव गुरागाईँले बताउनुभयो ।

चिसापानी बजारमा निकुञ्ज र सार्वजनिक जग्गा मिच्नेले पानीको मुहान समेत फोहर गर्न थालेपछि तलाखु र हैबुङका युवाले एक जुट भएर सोविरुद्ध अभियान सुरु गरेका छन् । स्थानीय अभियानकर्मी सन्दीप लामा प्राकृतिक स्रोतसाधन कब्जा गर्ने र सार्वजनिक एवम् निकुञ्जको संरक्षित जग्गा मिच्ने काममा भूमाफिया लागेकाले त्यसका विरुद्ध दुवै जिल्लाको सीमा जोडिएका गाउँका युवा हातेमालो गरेर लागेको बताउनुहुन्छ ।

“भूमाफियाले सार्वजनिक जग्गा मिच्नुका साथै निकुञ्जको जङ्गल समेत मासेका छन्, निकुञ्ज कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर होटल एवम् रिसोर्ट नचलाउन र चलाइरहेका यस्ता संरचना ३५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना टाँस गर्दा पनि अटेर गरी राति संरचना बनाइरहेका छन्”–उहाँले भन्नुभयो ।

गत वैशाख ५ गते निकुञ्ज कार्यालयले सार्वजनिक जग्गा मिचेर बनाएको संरचना ३५ दिनभित्र हटाउन सार्वजनिक सूचना प्रकाशन गरेको थियो । दुई जिल्लामा गरी १५० रोपनीभन्दा बढी जग्गा मिचिएको सार्वजनिक जग्गा मिचाहाविरुद्धका अभियानमा लाग्नुभएका युवक राजेन्द्र तामाङ बताउनुहुन्छ ।

“एक आना जग्गाको भाउ यहाँ रु पाँच लाख पुगेको छ, यहाँ चलेको भाउले हिसाब गर्ने हो भने पनि १५० आना जग्गाको रु एक करोडभन्दा बढी मूल्यको भूमी भूमाफियाले अतिक्रमण गरेका छन्, निकुञ्जभित्रको करोडौँको काठ समेत यो समूहले बेचेको छ”–उहाँले भन्नुभयो ।

निकुञ्जको जग्गा मिचेर पर्यटकलाई खाना र बास बसाउन होटल एवम् रिसोर्ट बनाउन थालेपछि जग्गा मिच्नेकै परिवार समेत यसविरुद्धको अभियानमा उत्रन थालेका छन् । त्यस्तैमध्येका एक हुनुहुन्छ होटल सञ्चालक निरञ्जन केसी । “गलत काम जोसुकैले गरे पनि त्यसको विरुद्धमा उत्रनुपर्छ, परिवारले गरेको कालो काम सेतो हुन सक्दैन, यसैले म सार्वजनिक जग्गा मिच्ने मेरा दाजुभाइलाई पनि यसो नगरौँ भनिरहेको छु, यसरी जग्गा मिच्ने हो भने सार्वजनिक धारा, मरणघाट र चिहान पनि रहँदैन”–उहाँले भन्नुभयो ।

चिसापानीका ६० प्रतिशत होटल र रिसोर्ट सार्वजनिक जग्गामा सञ्चालन भइरहेको पनि होटल व्यवसायी केसीको भनाइ छ । चालिस प्रतिशत होटल मात्र लालपुर्जा भएको जग्गामा चलेको स्थानीयवासीले बताएका छन् । भूकम्पपछि अचाक्ली गरेर एउटैले दसौँ रोपनी निकुञ्ज मध्यवर्ती क्षेत्रको जग्गा हडप्न थालेपछि स्थानीयवासी विरोधमा उत्रेका हुन् ।

सबैभन्दा बढी जग्गा मिचेको आरोप लागेका होटल माउन्टेन भ्युका सञ्चालक विजय केसीसँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन । सार्वजनिक जग्गा र निकुञ्ज जोगाउने अभियानमा लागेका युवाले व्यवस्थापिका–संसद्, वातावरण संरक्षण समिति, वन तथा भू संरक्षण मन्त्रालय, सिन्धुपाल्चोक र नुवाकोट जिल्लाका जिल्लास्थित सम्बन्धित कार्यालयलाई ज्ञापनपत्र पनि बुझाउने तयारी गरेका छन् । पूर्णप्रसाद मिश्र/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts