काठमाडौँ, २१ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पत्रकारिताका लागि सूचनाको हक आवश्यक भएको बताउनुभएको छ ।
विश्व प्रेस स्वतन्त्रताको अवसरमा मिडिया एक्सन नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि पत्रकार नै बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पत्रकारहरुले तथ्यपूर्ण र विश्वसनीय समाचारमा सम्झौता नगरे सरकार एक्लैले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने आँट गर्न सक्दैन ।’’
अध्यक्ष शर्माले पत्रकारले आफ्नो स्वार्थलाई भन्दा जनताको स्वार्थलाई केन्द्रबिन्दुमा राखेर समाचार प्रकाशन÷प्रसारण गर्नुपर्ने बताउनुभयो । प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने नाममा राज्यले कुनै किसिमको कानुन बनाउन नहुने बरु स्वतन्त्रता उपभोग गर्ने मामिलामा पत्रकार आफैँ नियन्त्रित हुनुपर्नेमा उहाँको जोड थियो ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य डा माधवी भट्टले पत्रकारको दायित्व आफ्ना लागि मात्र नभई जनतालाई सूचना माग गर्नको लागि उत्प्रेरित गराउनु भएको बताउनुभयो ।
सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय आयोगका अध्यक्ष काशीराज दाहालले जनताको विचार तथा अभिव्यक्ति स्वतन्त्रतलाई सुनिश्चित गर्नसमेत सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्दछ भन्नुभयो । जनताको सूचनामा पहुँचले प्रजातन्त्रको विकासमा योगदान पुग्ने बताउँदै उहाँले भन्नुभयो, “सञ्चार माध्यम तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि सूचनाको हकको महत्वपूर्ण भूमिका हुन्छ ।”
प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छा बिन्दुले सूचनाको हकले नागरिकलाई सशक्त बनाउने विचार राख्नुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले स्वतन्त्रताका नाममा पत्रकारले विश्वसनीय र तथ्य सूचना पाउने आमजनताको अधिकारमाथि खेलबाड गर्न नहुने बताउनुभयो । रासस
No comments:
Post a Comment