काठमाडौँ, १२ जेठ । ‘कलाका कुरामा’को छैटौँ शृङ्खलामा प्रसिद्ध कलाकार हरिप्रसाद शर्मासँग आज अन्तक्र्रिया कार्यक्रम भएको छ ।
विसं १९९४ मा काठमाडौँमा जन्मिएका कलाकार शर्माले नेपालको ऐतिहासिक राजनीतिक तथा सांस्कृतिक विषयमा केन्द्रित रही चित्र बनाउँदै आउनुभएको छ । नेपालको इतिहासलाई चित्रात्मक रुपमा प्रस्तुत गर्दै बनाएका उहाँका चित्रले देशकोे प्राचीन इतिहासलाई झल्काएको पाइन्छ ।
करिब सात÷आठ वर्षको उमेरबाट चित्र बनाउन सुरु गर्नुभएका शर्माले पुस्तकमा छापिएका चित्र हेरेर आफूमा कलाप्रतिको प्रभाव परेको बताउनुभयो । उहाँले आफ्नो कला यात्राका बारेमा भन्नुभयोे, “बाहुनको छोरो भएकाले बाजेले बेद पढ्नुपर्छ भन्नुहुन्थ्यो । मैले बेद पनि पढे र चित्र बनाउने काम पनि गरे । टोल छिमेककाले कला पढाउनुपर्छ भनेपछि जीवरत्न शाक्य मास्टरसा’वकोमा कला सिक्न बुबाले लैजानु भयो र त्यसपछि मैले जुद्धकला पाठशालामा पढेँ ।”
एघार वर्षको उमेरमा शाक्यसँग कला सिक्न थालेका शर्माले २००८ सालमा जुद्धकला पाठशालामा अध्ययन गर्न भर्ना हुनुभयो । पाँच÷सात वर्ष अध्ययन गरेपछि उहाँले कलालाई जीवनको साधनाका रुपमा लिए र निरन्तर यसमा लागिरहे ।
काठमाडौँमा भइरहने जात्राबाट प्रभावित भएको बताएका उहाँले “हामीले हाम्रो संस्कृति बचाउन सकेमा मात्रै विश्वमा हाम्रो पहिचान स्थापित हुन्छ”– भन्नुभयो ।
उहाँले नेपालको ऐतिहासिक विषयमा बनाउने क्रममा कैलाशकुट भवन, सिद्धार्थ गौतमको गृह त्याग, अरनिको, कोतपर्वलगायत विषयमा केन्द्रित रहेर चित्र बनाउनुभएको छ । संस्कृति र समाजलाई बचाउन इतिहास पनि बचाउनुपर्ने धारणा राख्दै शर्माले थप्नुभयो, “कलाकारमा राष्ट्रिय एकता हुनुपर्छ । प्रेम र सद्भावले कलाकारमा सकारात्मक प्रभाव पर्ने हुनाले यसमा सबैले ध्यान दिनुपर्छ ।”
शर्माका ऐतिहासिक विषयमा केन्द्रित रही चारपटक एकल प्रदर्शनी भइसकेका छन् भने दर्जनौँ पटक सामूहिक कला प्रदर्शनीमा उहाँ सहभागी भइसक्नुभएको छ ।
सो कार्यक्रमको सहजीकरण पत्रकार सङ्गीता श्रेष्ठले गर्नुभएको थियो । साथै नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल, महासचिव देवेन्द्र थुम्केली, कलाकार पाल्साङ्मो लामा, बिक्कु लामा तथा मन गुरुङले कलाकार शर्माको कलायात्रा, सिर्जनाका आदि विषयमा जिज्ञासा राखेका थिए ।
नेपाल ललितकला पत्रकार समाज र तारागाउँ म्युजियमको सहकार्यमा हरेक महिनाको दोस्रो बुधबार एक कलाविज्ञ या कलाकारसँग कलाका कुरा गर्ने गर्छ । रासस
No comments:
Post a Comment