काठमाडौँ, १७ जेठ । नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७२ मा ‘राष्ट्रको पहरेदार’ नामक चलचित्र प्रथम भएको छ ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सैनिक मुख्यालयमा आज साँझ आयोजित समारोहमा निर्माता देवेन्द्र पाण्डे रहनुभएको उक्त चलचित्रलाई रु एक लाख ५० हजार र प्रमाणपत्र पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा सुरज पौडेलको लघु चलचित्र ‘लक्ष्य जिन्दगीको’ दोस्रो भएको थियो भने तेस्रो पुरस्कार प्रतिश श्रेष्ठको ‘नयाँ घर’ले प्राप्त गरेको थियो ।
प्रतियोगितामा दोस्रो हुनेलाई रु एक लाख प्रदान गरियो भने तेस्रो हुनेले ५० हजार र प्रमाणपत्र प्राप्त गरेको थियो । विवेक पौडेलको ‘अध्याय’ र डेबिन राईको ‘सिपाही’ले सान्त्वना पुरस्कारस्वरुप रु १०÷१० हजार र प्रशंसापत्र प्राप्त गरेका थिए । प्रतियोगिताका लागि २२ चलचित्रले निवेदन दिएकामा मापदण्ड पूरा गरेका आठ चलचित्रलाई प्रतिस्पर्धामा सामेल गरिएको थियो ।
समारोहमा नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही वार्षिक २०७२’ र ‘शिवपुरी जर्नल २०१५’ मा अघिल्लो वर्ष प्रकाशित लेखमध्ये प्रमुख सेनानी रञ्जित थापाको सिपाही वार्षिकमा प्रकाशित ‘एक पातलो धर्काः वर्तमान सन्दर्भमा रणनीति, सैनिक इतिहासको गतिविज्ञान खोज्दै’ नामक लेख सर्वाेत्कृष्ट ठहरिएको गरिएको थियो । उक्त लेखलाई रु ५० हजार र प्रशंसापत्र प्रदान गरियो ।
प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्र उत्पादन गर्नमा उल्लेखनीय भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ । नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित, नवप्रवेशी कलाकार र चलचित्र निर्मातालाई चलचित्र निर्माण गर्न प्रोत्साहन गर्नाका साथै नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment