Sunday, May 8, 2016

विस्थापित अझै घर फर्कन पाएनन्

भक्तपर, २६ वैशाख । भक्तपुर नगरपालिका–५ याछेंस्थित घर भूकम्पले भत्काएपछि पञ्चनारायण सितिखुको परिवार एक वर्षदेखि देकोचास्थित शिविरमा बस्दै आएको छ ।

सितिखुको परिवार जस्तै भक्तपुर नगरपालिका–४ थालाछे, वडा नं ५ याछे, भोलाछे र वडा नं ७ गोल्मढीका ५४ परिवारको पुर्खाको थातथलो फर्कने चाहना पुरा नहुने भएको छ । एकवर्ष बितिसक्दा पनि भत्किएका घरको भग्नावशेष हटाउन नसकेपछि शिविरमा बस्नेलाई यस वर्षको वर्खामा पनि टहरामै विताउनुपर्ने चिन्ताले सताउन थालेको छ ।

भग्नावशेष हटाउन भूकम्पपीडित आफँैले नसक्ने र त्यस्ता ठाउँमा नगरपालिकाले सहयोग नगर्दा सयाँै घरको भग्नावशेष अझै बाँकी नै छ । याछेंका सितिखु भन्नुहुन्छ— “ढलेका घर यत्तिकै छन्, भग्नावेशष हटाउन नसक्दा कुनै घर उठ्न सकेनन् ।” भग्नावशेष हटाउन स्थानीयले सक्ने अवस्था छैन । नगरपालिका र सरकारी निकायको सहयोगमा मात्र सम्भव छ ।

डोजर र गाडी छिर्नेबाहेक जिल्लाका अधिकांश गल्लीका घरका भग्नावशेष अझै नहट्दा ती ठाउँमा पुनःनिर्माणको काम ठप्प छ । भग्नावशेष हटाएका धेरै ठाउँमा सरकारको अनुदानको पर्वाह नगरी सकेजस्तो घर निर्माण हुन थालेको छ भने भग्नावशेष नहटेका ठाउँ जीर्ण बनेका छन् ।

सितिखु भन्नुहुन्छ– “अरुको जग्गामा कहिलेसम्म बस्नु, कुन दिन उठाउने हो थाहा छैन ।” देकोचा शिविरमै बस्दै आउनुभएकी भोलाछे– ५ कि सिता कुसाथाको पीडा पनि उस्तै छ । “अब त्यही ठाउँमा गएर घर बनाउन सक्ने अवस्था छैन” उहाँले भन्नुभयो । तीनवटा ढलान घर हुनेसँग भूकम्पपीडितको परिचयपत्र रहेको र उठिबास भएकासँग नभएको कुसाथा बताउनुहुन्छ ।

जिल्लाका देकोचा, व्यासी, कमलबिनायक, बाराही, हनमानथान लगायतका शिविरमा बसेका भूकम्पपीडित वर्षा अगाडि नै आफ्नै थातथलो फर्कने चाहना रहेको बताउँछन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts