Sunday, May 8, 2016

विप्लव माओवादीबाट नयाँ श्रम ऐन विरोध

चितवन, २६ वैशाख । विप्लव नेतृत्वको नेकपा (माओवादी) सम्बद्ध मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले श्रम ऐन, २०४८ लाई विस्थापित गर्नेगरी आउन लागेको नयाँ श्रम ऐनको व्यवस्थाविरुद्ध सङ्घर्ष गर्ने भएको छ ।

दुई दिनसम्म चितवनमा चलेको सङ्गठनको केन्द्रीय समितिको बैठकले नयाँ श्रम ऐनमा व्यवस्था गरिएको मजदुरको ६ महिना परीक्षण कार्यअवधि, रोजगारदाताको इच्छामा मात्र मजदुरको रोजगारीको सुनिश्चितता तथा ज्यालादारी एवम् ठेकेदारी प्रथाको वैधानिकीकरणविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको हो । बैठकको निर्णय सुनाउन आज यहाँ आयोजित पत्रकारसम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष योगेन्द्र कुमालले काम गरेको २४० दिन स्वतः स्थायी हुन पाउने श्रम ऐनको विरुद्ध ६ महिनासम्म मात्रै परीक्षणकाल राख्नु मजदुरलाई दबाउन खोज्ने नियत भएको बताउनुभयो ।

उहाँले यस ऐनविरुद्ध कडा सङ्घर्षमा उत्रने चेतावनीसमेत दिनुभयो ।

यस्तै सङ्गठनले राजनीतिक आस्थाका आधारमा होटेल एभरेस्ट, केएफसी पिज्जाहर्ट, कोहिनुर हिल नवलपरासी, सिजी, टेलिकम, आँगन रेस्टुराँलगायतका विभिन्न प्रतिष्ठानबाट अनेक बहानामा प्रतिष्ठान बन्द गर्ने र मजदुर निष्कासन गर्ने कदम विरुद्ध सङ्घर्ष गर्ने जनाएको छ ।

यसैगरी, बैठकले चितवन मेडिकल कलेजको व्यवस्थापनले गरेको मजदुर विरोधी कार्य, प्रस्तावित ‘श्रम ऐन २०७१’ खारेज गरी श्रमजीवी मैत्री ऐनको निर्माण र चिया बगान ५० वर्षका लागि साङ्घाई समूहलाई ठेक्कामा दिने निर्णयको विरुद्ध आन्दोलन गर्ने निर्णयसमेत गरेको पत्रकारसम्मेलनमा जानकारी दिइएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts