काठमाडौँ, ९ जेठ । नेपाल जनप्रशासन सङ्घले मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खीलराज रेग्मीलाई २०६९ सालको हेमबहादुर मल्ल सम्मानबाट पुरस्कृत गरेको छ ।
सङ्घद्वारा आज यहाँ आयोजित विशेष समारोहमा अध्यक्ष रेग्मीलाई रु दुई लाख नगद राशि र सम्मानपत्र प्रदान गरियो ।
सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रमा कुशलता र इमान्दारीपूर्वक संस्थागत नेतृत्व र व्यवस्थापन गर्ने महानुभावलाई प्रदान गरिने उक्त सम्मान प्राप्त गर्ने उहाँ नवौँ व्यक्तित्व हुनुहुन्छ ।
राजनीतिक र संवैधानिक हिसाबले मुलुक अप्ठ्यारोमा परेका बेला गैरराजनीतिक व्यक्तिले अधिक मतदाताको सहभागितामा कुशलतापूर्वक दोस्रो संविधानसभाको निर्वाचन गराई विश्व समुदायमै उदाहरण प्रस्तुत गरेबापत उक्त योगदानलाई कदर गर्दै सङ्घले उहाँलाई सम्मान गरेको हो ।
साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडका तत्कालीन प्रमुख हेमबहादुर मल्लको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो ।
न्यायको क्षेत्रमा चारदशक व्यतित गर्नुभएका रेग्मीलाई सर्वाेच्च अदालतको प्रधान न्यायाधीशको जिम्मेवारी लिइरहेकै बखत राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद्को अध्यक्ष भई संविधानसभाको निर्वाचन गराउने जिम्मेवारी प्राप्त भएको थियो ।
पूर्वअध्यक्ष रेग्मीलाई उक्त सम्मान पुरस्कार छनोट समितिका संयोजक तीर्थमान शाक्य, साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धर र आयोजक संस्थाका अध्यक्ष कृष्ण ज्ञवालीले संयुक्तरुपमा प्रदान गर्नुभएको थियो ।
सो समारोहलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष रेग्मीले सबैको समावेशीता र सहभागिताको सुनिश्चित गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्नसक्ने सकारात्मक गतिविधि अहिलेको टड्कारो आवश्यकता भएको बताउनुभयो ।
नेपाली समाजको विविधताबीच एकता कायम गरी समग्र नागरिकको शान्ति, समृद्धि र समुन्नतिको सुनिश्चित गर्नु नै आजको आवश्यकता भएको बताउँदै उहाँले भन्नुभयो, “राज्यले संवैधानिक दायित्व र नागरिकले सामाजिक दायित्वका रुपमा लिई सहयोग र सहकार्यलाई अङ्गिकार गर्दै अग्रसर हुन सकेमा शासन प्रणालीमा सबैको सहयात्रा कायम गर्न सक्दछाँै ।”
आजका दिनमा संविधान कार्यान्वयन नै राज्यको सबैभन्दा प्राथमिकताको विषय बन्नुपर्दछ भन्दै पूर्वअध्यक्ष रेग्मीले हामीले कागजीरुपमा परिवर्तन बोकेर हिँडेका छाँै, तर त्यहाँ आवश्यक संयन्त्रको गठन र सञ्चालनको दिशामा विलम्ब गर्दैछौँ भन्नुभयो ।
संविधानले परिकल्पना गरेको सङ्घीय राज्यको व्यवस्थापन, निर्वाचन क्षेत्र निर्धारण, क्षेत्राधिकार विभाजन तथा ततपश्चात् हुनुपर्ने प्रदेश सभा र सङ्घीय संसद्को निर्वाचन गरी राज्यको मूलस्वरुप गठन गर्ने कार्यमा अर्काे चुनौती रहेको बताउँदै उहाँले मौलिक हकका प्रावधानदेखि समावेशी र समानुपातिक प्रतिनिधित्वको कार्य राजनीतिक इच्छाशक्तिका रुपमा व्यक्त भए झँै अब ती विषयलाई सम्बोधन गर्दै अघि बढ्न राजनीतिक र व्यवस्थापकीय सक्रियता आवश्यक छ भन्नुभयो ।
पुरस्कार छनोट समितिका संयोजक तीर्थमान शाक्यले पूर्वअध्यक्ष रेग्मीको योगदानले नेपाल र नेपालीले संविधानसभाबाट संविधान र सङ्घीयता प्राप्त गर्न सफल भएको भनी उहाँको योगदानको प्रशंसा गर्नुभयो ।
साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरले सुपथ मूल्यमा गुणस्तरीय सामानको बिक्री वितरण गर्दै आएको आफ्नो संस्थाका अग्रजको नाममा स्थापना गरिएको पुरस्कारबाट राष्ट्रका महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुहुने व्यक्तित्व पुरस्कृत हुँदा आफूलाई गौरव लागेको धारणा व्यक्त गर्नुभयो ।
नेपाल जनप्रशासन सङ्घका अध्यक्ष कृष्ण ज्ञवालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सार्वजनिक प्रशासन सेवामा रहेका, खोज अनुसन्धानको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई एउटै साझा थलोमा ल्याउन सकियोस् भनेर स्थापना भएको सङ्घले सरकारलाई नीति तथा कार्यक्रम बनाउनसमेत योगदान पु¥याउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो– “पुरस्कार र सम्मानबाट इमान्दार, कुशल मान्छेलाई समाजमा स्थापित गराउन योगदान दिनेछ ।”
सो अवसरमा पूर्वअध्यक्ष रेग्मीलाई सङ्घको मानार्थ सदस्यताको प्रतीक चिह्नसमेत प्रदान गरिएको थियो । रासस
No comments:
Post a Comment