रुकुम, १९ वैशाख । रुकुमको बाँफिकोटस्थित स्यार्पु सल्लेरी वनमा आगलागी हुँदा १६ घर जलेर नष्ट भएका छन् ।
गएरातिदेखि लागेको आगो नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन् । आगलागी नियन्त्रणका लागि प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएको भए पनि नियन्त्रण बाहिर रहेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
यसैगरी, रुकुमको आठबिसकोट–३ दाजेमा गत १४ गते भएको आगलागीपीडितले राहत नपाउँदा समस्यामा परेका छन् । सो ठाउँमा खानेपानीको अभाव हुँदा पीडित झनै कष्टकर जीवन बिताइरहेका छन् र घटनापछिको अवस्था अध्ययन गर्न विपद् व्यवस्थापन पत्रकार समाज (डिम्जा) घटनास्थल पुगेको छ ।
डिम्जाको नेतृत्वमा घटनास्थलमा पुगेर आगलागीपछि राहत वितरण, उद्धार तथा पीडितको वास्तविक अवस्थाकाबारेमा जानकारी लिइएको हो । टोलीले आगलागी भएको गाउँमा खानेपानीको अवस्था, राहत वितरण, पीडितको बसाइँ व्यवस्थापन, बालबालिकाको अवस्था, राहतको अवस्थाकाबारेमा पीडितसँग जानकारी लिएको अध्यक्ष वीरबहादुर मल्लले जानकारी दिनुभयो ।
गत वैशाख १४ गते भएको आगलागीबाट १० घर जलेर नष्ट भएका थिए । आगलागीबाट करिब रु एक करोड बढीको क्षति भएको थियो । रासस
–––––––
No comments:
Post a Comment