काठमाडौँ, १९ वैशाख । यस बर्षको वसन्तऋतुमा आठ हजार मिटरमाथिको पहिलो आरोहण सफल भएको छ ।
यो मौसमको पहिलोपटक आज आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल दुई भिन्न समूह (टिम) का १४ विदेशी आरोहीले सफल आरोहण गरेका छन् भने उनीहरुसँगै १८ जना नेपाली शेर्पाहरुले पनि आरोहण गरेका छन् ।
पर्यटन विभागको पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले राससलाई दिनुभएको जानकारीअनुसार आरोहण गर्नेमध्ये सेभेन समिट ट्रेक प्रालिबाट गएका ११ जना विदेशी र १६ जना शेर्पा छन् ।
त्यस्तै, ट्रेकिङ क्याम्प प्रालिबाट गएको समूहका तीन विदेशी र दुई शेर्पाले सफल आरोहण गरेका छन् । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये कान्छो हिमाल हो । सर्वोच्च शिखर सगरमाथा (८, ८४८ मिटर अग्लो) पहिलो मानिन्छ ।
यही मौसममा यसअघि टुकुचे (६,९२०) र आमडब्लम (६,८१४) मिटर अग्लो हिमालको पनि सफल आरोहण भएको विभागले जनाएको छ ।
विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार यो मौसममा अहिलेसम्म ९७ समूहका ७३० आरोही सगरमाथासहितका हिमाल आरोहणका लागि गएका छन् । तीमध्ये सगरमाथामा मात्रै ३४ समूहका २९९ आरोही गएका छन् । रासस
No comments:
Post a Comment