नेपालगन्ज, १३ जेठ । पत्रकारको पेसागत र भौतिक सुरक्षा तथा सम्मानजनक पहिचान राज्यको प्राथमिकताको विषय बन्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल प्रेस युनियनको २५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले जनता, समाज र राष्ट्रका लागि दिनरात खटिरहने पत्रकार र पत्रकारितालाई थप व्यवस्थित र मर्यादित बनाउन समाजको समर्थन र सहयोग हुनुपर्ने धारणा व्यक्त गरे ।
त्यस अवसरमा नेपाली काँग्रेस, बाँकेका अध्यक्ष किरण कोइराला, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण श्रेष्ठ र प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताले पत्रकारलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएसम्म गल्तीमात्र देखाउने तर, कामको मूल्याङ्कन नहुने संस्कृति मौलाउँदै जाने विचार राख्नुभयो ।
युनियनका जिल्ला अध्यक्ष जयनारायण शाहको सभापतित्वमा भएको कार्यक्रममा युनियनका केन्द्रीय सचिव दीपा आले, सल्लाहकार नीरज गौतम, पत्रकार महासङ्घका जिल्ला अध्यक्ष रुद्र सुवेदी, अधिवक्ता बलबहादुर चन्द, प्रह्लादबहादुर कार्की, प्राध्यापक दीपक रेग्मीलगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दिवसका अवसरमा यसअघि युनियनले आयोजना गरेको प्रभातफेरीमा सहभागीहरुले नेपालगन्ज बजारको परिक्रमा गरेका थिए । रासस
No comments:
Post a Comment