काठमाडौँ, ४ जेठ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा नेपाल पारा ओलम्पिक कमिटीले जुम्लामा ह्लिचियर बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद सङ्घ, स्पाइनल कोर्ड पुनःस्थापना केन्द्र र बिआइए सहआयोजक रहेको प्रतियोगितामा चार टोलीको सहभागिता रहने आयोजक कमिटीका महासचिव कुमार पौडेलले जानकारी दिनुभयो ।
दुर्गम भेगका अपाङ्गता भएका व्यक्तिको खेलकुदसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले जुम्लामा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । प्रतियोगिता जेठ ७ देखि ९ गतेसम्म जुम्लाको खलङ्गास्थित टुँडिखेलमा हुनेछ ।
अकी र अदित क्वाटरफाइनलमा
अकीजुवेन रावत र अदीत सुवेदी तेस्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता (जेटीआइ)को यु–१२ छात्र एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा आज भएको सोही स्पर्धामा आरभ सम्राट हाडा, साम्पुहाङ राई, कुवेहाङ चेम्जोङ, आदित्य सुवेदी, निश्चल अधिकारी तथा मिलन जोशी पनि क्वाटरफाइनलमा पुग्न सफल भए ।
जुनियर लनटेनिस खेलाडीका अभिभावक मिलेर आयोजना गरेको प्रतियोगिताको यु–८ छात्र एकलमा निभाष रावल, मन्थन जोशी, शिभेन महर्जन, राजु प्रधान, सक्षमविक्रम शाह र निसाद जोशी विजयी भए ।
आजै भएको यु–९ छात्रा एकलमा अमिना कायामुराले सफलता हात पार्दै अर्को चरणमा प्रवेश गरिन् । सोही स्पर्धाको छात्रतर्फ प्रसिद्ध बस्नेत, मन्थन र प्रमोद बुढाथोकीले जित हात पारे । प्रतियोगितामा १७५ खेलाडीले १४ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
केसी उपाध्यक्ष निर्विरोध
कृष्णबहादुर केसी नेपाल बुदोकैदो फूलकन्ट्याक्ट सङ्घको उपाध्यक्षमा मनोनित हुनुभएको छ । सङ्घको आजको निर्णयानुसार केसीलाई उपाध्यक्षमा मनोनित गरिएको सङ्घका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment