Tuesday, May 17, 2016

चेतावनी दिने प्याब्सन पदाधिकारीलाई कारबाहीको माग

काठमाडौँ, ४ जेठ । पाठ्यक्रम विकास केन्द्रलाई चेतावनी दिँदै पत्र पठाउने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पदाधिकारीलाई कारबाही हुनुपर्ने भन्दै एमाओवादी निकट अखिल क्रान्तिकारीले आज शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा ‘आफ्नो पुस्तकलाई किन स्वीकृति नदिएको भन्दै आफूलाई नियमन गर्ने उपल्लो सरकारी निकाय पाठ्यक्रम विकास केन्द्र्रलाई धम्की दिने प्याब्सनका पदाधिकारीलाई कारबाही’को माग गरिएको छ ।

यसैगरी ज्ञापनपत्रमा बिक्री गरिसकेको पुस्तकको मूल्य फिर्ता गर्नुपर्ने, संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका नमान्ने विद्यालय सञ्चालकलाई कारबाही गर्नुपर्ने माग गरिएको छ ।

क्रान्तिकारी प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत नै नभएको ‘पी पब्लिकेशन’ का नाममा प्रकाशित कक्षा १ देखि १० सम्म वितरण गरिएको ‘प्याब्सन साइन्स’ नामक पुस्तकसमेत मन्त्री पोखरेललाई बुझाएको थियो ।

मन्त्री पोखरेलले उक्त पुस्तकका विषयमा तीन दिनभित्र छानबिन गरी कारबाही गर्ने बताउनुभयो । नियम र कानुनभन्दा बाहिर जाने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts