काठमाडौँ, २४ वैशाख । मुलुक सङ्घीयतामा प्रवेश गरिसकेका अवस्थामा सात प्रदेश र सङ्घको राजधानी कस्तो बनाउने भन्ने विषय बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेकाले सांसदहस्रुले बजेट प्रणालीमा सुधारको खाँचो देखिएको औँल्याउनुभएको छ ।
आव २०७३÷७४ को विनियोजन विधेयक संसदमा प्रस्तुत गर्नुअघि बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्वन्धमा भएको छलफलमा भाग लिँदै उहाँहरुले स्थानीय निकायको निर्वाचन नभएकाले बजेट कार्यान्वयनमा चुनौती रहेकाले यथाशीघ्र निर्वाचन आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँहरुले उत्तर–दक्षिण राजमार्ग, मध्यपहाडी र हुलाकी राजमार्गलाई पनि बजेटमा प्राथमिकतामा राख्न सुझाव दिनुभयो । उहाँहरुले काठमाडौँमा घर भाडा महँगो भएकाले सांसदका लागि घरभाडा बढाउन माग गर्नुभयो । राष्ट्र सेवक कर्मचारीले पनि यस पटक तलब वृद्धिको आश गरिरहेकाले त्यसतर्फ ध्यान दिन अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै सांसदले संविधानले आत्मसात् गरेको समावेशी, समानुपातिक सिद्धान्त र सन्तुलनको पक्षलाई समेत बजेटले सम्बोधन गर्नुपर्छ भन्नुभयो ।
वैदेशिक लगानी भित्र्याउने, रोजगार बजार सिर्जना गर्ने तथा भूमिलाई उत्पादनशील बनाउने पक्षमा बजेट बोल्नुपर्छ भन्दै सांसदले भैँसेपाटीमा रहेको संसद्को जग्गा भैँसी चराउन प्रयोग गर्ने हो कि संसद भवन बनाउने हो भनी प्रश्न गर्नुभयो ।
संसदीय व्यवस्थामा लोकतन्त्रको अभ्यासको कसीका रुपमा पूर्वबजेट छलफललाई लिने गरिन्छ तर बजेटको सिद्धान्त र प्राथमिकतामाथिको आजको छलफलमा सांसदको निरन्तर उपस्थिति ज्यादै न्यून रहेको देखिन्थ्यो । समग्र मुलुकको विकास निर्माण र जनताले अत्यन्तै चासो साथ हेरिरहेको पूर्वबजेट छलफलमा सांसदले आवश्यक चासो नदिएको बैठकमा उपस्थित सङ्ख्याले देखाइरहेको थियो ।
भूकम्पपछिको पुनःनिर्माण र विकटका समस्याका बारेमा अरुले के कस्ता विचार राखे भनेर सुन्न धैर्य समेत नराखेर आफ्नो बोल्ने पालो सकिनासाथ सांसदहरु फुत्तफुत्त बाहिर निस्कने क्रमले दिनभर नै निरन्तरता पाएको थियो । बैठकमा केही सांसदले भने सबैले बोलेका विचारलाई अत्यन्त चासोका साथ सुनिरहनुभएको थियो भने कोही निदाइरहेको, केही आलस्य मुद्रामा समय कटाइरहेको त कोही भलाकुसारीमै मस्त रहेको दृश्य देखिन्थ्यो ।
संसदमा पूर्वबजेट छलफल गर्न नसक्ने अवस्था रहँदा चर्काे स्वरमा विरोध गर्ने सांसदले पनि बैठकमा आवश्यक समय नदिएको भन्दै स्वयम् सांसदले नै आलोचना गरिरहनुभएको थियो । आजको छलफलमा दीपक कुईँकेल, रामहरि सुवेदी, प्रकाश शर्मा, नागेन्द्र चौधरी, उदय नेपाली, बुद्धिसागर चौधरीलगायत ४६ जनाले भाग लिनुभएको थियो । व्यवस्थापिका–संसदको अर्काे बैठक वैशाख २६ गते बिहान ११ बजे बस्ने छ । रासस
No comments:
Post a Comment