काठमाडौँ, २३ वैशाख । नेपाल रक्षा परिषद्ले भूकम्पपीडितलाई तत्काल गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा लगायतको उचित व्यवस्था गर्न माग गरेको छ ।
परिषद्को आज बसेको बैठकले नागरिकका लागि हालसम्म स्वदेश तथा विदेशबाट सङ्कलित राहत रकम तथा सामग्रीको विवरण तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेको परिषद्का प्रवक्ता नीलकण्ठ पौडेलले जानकारी दिनुभयो । बैठकले भ्रष्टाचारी, कालोबजारी, माफिया, घुसखोरी, व्यभिचारी, बलात्कारी, उत्पीडकलाई कारबाही गर्न माग गर्दै नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण लगायत अन्य संस्थामा भएका र हुने गरेका अनियमितता र भ्रष्टाचारबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
नयाँ संविधान निर्माण र कार्यान्वयनका विषयमा विविध विदेशी शक्तिले अनावश्यक चलखेल र हस्तक्षेप गरेका कारण नेपालमा रहेका सबै देशभक्त राष्ट्रवादी, वामपन्थी, क्रान्तिकारी शक्तिबीचमा बृहत् सहमति गराई नेपाल र नेपालीको हित गर्ने संविधान बनाई त्यसकोे व्यवस्थित कार्यान्वयनका लागि सरकारसँग बैठकले माग गरेको छ ।
एनसेलले नेपाल सरकारलाई कानुनबमोजिम तिर्नुपर्ने अर्बौं रुपैयाँ तिराउनुपर्ने जनाउँदै परिषद्ले भाटभटेनी सुपर मार्केट कम्पनीका प्रमुख मीनबहादुर गुरुङले बालुवाटारस्थित नेपाल सरकारको जग्गा आफ्नो नाममा गैरकानुनी रुपमा पारेको भन्ने समाचार बाहिर आएकाले त्यसको छानबिन गर्न आग्रह गरेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिले पाठ्यपुस्तक छपाइ गर्दा कमसल कागजको प्रयोग गरी व्यापक अनियमितता गरेको भन्ने विषय छानबिन गर्नुपर्ने र समयमै पाठ्यपुस्तक वितरणको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । रासस
No comments:
Post a Comment