Thursday, May 26, 2016

पत्रकार इच्छुकको हत्यामा संलग्नलाई कारबाही माग

काठमाडौँ, १३ जेठ । चौध वर्षअघि हत्या गरिएका जनपक्षीय पत्रकार स्वर्गीय कृष्ण सेन ‘इच्छुक’को हत्यामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।

क्रान्तिकारी पत्रकार इच्छुकको १४औँ स्मृति दिवसका अवसरमा आज बिहान आयोजित कार्यक्रममा सहभागी पत्रकारले परिवर्तनका पक्षमा जीवन उत्सर्ग गर्ने इच्छुकको हत्यामा संलग्नलाई कारबाही नभएको भन्दै दःुख व्यक्त गरेका हुन् ।

स्व. इच्छुककी जीवन सङ्गीनी तक्मा केसीले सेनका हत्यारालाई कारबाही नभएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले इच्छुकका आदर्शमार्फत उहाँका सपना पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले स्व इच्छुक एक पक्ष वा धारको भन्दा पनि मूलप्रवाहका आदर्शका रुपमा आफूले स्मरण गरेको बताउँदै भन्नुभयो, “युद्धमा नभई नियन्त्रणमा लिई पत्रकार सेनको हत्या भएको थियो, उहाँको हत्यामा सम्लग्नलाई कारबाही नहुनु दुःखद् हो ।”

क्रान्तिकारी पत्रकार सङ्घका संयोजक गोविन्द आचार्यले राज्यले कृष्ण सेनका हत्यारालाई कारबाहीको सटृा पुरस्कृत गरेको भन्दै कारबाहीको माग गर्नुभयो । उहाँले गृहमन्त्रालयको निर्देशनमा असंवैधानिकरुपमा पत्रकारलाई धरपकड गरिएको भन्दै त्यस्ता कार्य बन्द गर्न माग गर्नुभयो ।

क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष कुमार शाहले आलोचकलाई सफाया गर्ने राज्यको अलोकतान्त्रिक कार्यलाई बन्द नगरेसम्म स्वतन्त्रताको कुनै अनुभूति नहुने भन्दै दण्डहीनताको अन्त्यका लागि सेनको हत्यामा संलग्नको कारबाही हुनुपर्ने बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले परिवर्तन र जनताका पक्षमा लेख्ने पत्रकार इच्छुक भएको स्मरण गर्दै उहाँको आदर्शलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।

क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रभात चलाउनेले पद र शक्तिलाई त्यागेर जनताका पक्षमा कलम चलाउने पत्रकार इच्छुकको स्मरण गर्दै उहाँको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आदिवासी जनजाति पत्रकार सङ्घका अध्यक्ष दण्ड गुरुङ, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला लगायतले पत्रकार इच्छुकको हत्यामा संलग्नलाई कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार इच्छुककै स्मरणमा स्थापित कृष्णसेन स्मृति पुरस्कार पत्रकार नीमबहादुर बुढाथोकीलाई प्रदान गरिएको छ । रु १० हजार राशिको उक्त पुरस्कार स्व इच्छुककी जीवन सङ्गीनी तक्मा केसी र क्रान्तिकारी पत्रकार सङ्का अध्यक्ष गोविन्द अचार्यले संयुक्तरुपमा प्रदान गर्नुभयो ।

स्व इच्छुकको स्मरणमा आज शान्तिवाटिका रत्नपार्कदेखि भृकुटीमण्डपसम्म प्रभातफेरी गरिएको थियो । विसं २०५९ जेठ १३ गते इच्छुकको हत्या भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts