काठमाडौँ, १९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवम् पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले राज्यको नीति नै स्वदेशमा रोजगार सिर्जना गर्नेभन्दा वैदेशिक रोजगारलाई प्राथमिकता दिने रहेकाले मुलुकको सम्बृद्धि हुन नसकेको बताउनुभएको छ ।
एकसय सत्ताइसऔँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग गठन गर्ने तर स्वदशी रोजगार प्रवद्र्धन बोर्ड गठन नगर्नुले राज्य जसरी हुन्छ युवालाई वैदेशिक रोजगारीमा पठाउने ध्याउन्नमा रहेको प्रष्ट हुने बताउनुभयो ।
उहाँले बहुदल आएपछि स्वदेशमा रोजगारी घटेको तथ्याङ्क प्रस्तुत गर्दै भन्नुभयो– “विसं २०४९ सम्म उद्योगमा दुई लाख २३ हजार मजदुर कार्यरत थिए, २२ वर्षपछि अहिले उद्योगमा काम गर्ने मजदुरको सङ्ख्या घटेर दुई लाख चार हजारमा सीमित भएको छ ।”
उहाँले मजदुरलाई शासक वर्गले सत्तामा पुग्न हतियारका रुपमा प्रयोगमात्रै गर्दै आएको टिप्पणी गर्दै अब मतियार बन्ने काम मजदुरले छोड्नुपर्ने धारणा राख्नुभयो ।
पूर्वमन्त्री केशरबहादुर विष्टले नेपाली युवालाई जोखियुक्त कामका लागि वैदेशिक रोजगारीमा पठाएर राज्य आफ्नो दायित्वबाट पन्छिन खोजिरहेको बताउनुभयो ।
महासङ्घका अध्यक्ष नवराज दाहालले मजदुरका माग सम्बोधन गर्न श्रम ऐन संशोधन र सामाजिक सुरक्षा ऐन तत्काल जारी हुनपर्नेमा जोड दिनुभयो ।
राससकर्मी भट्टराई सम्मानित
एकसय सत्ताइसऔँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्रले आयोजना गरेको कार्यक्रममा राससका पत्रकार किरण भट्टराईलाई ‘ श्रमजीवी पत्रकार सम्मान– २०७३’ बाट सम्मान गरिएको छ ।
यसैगरी ‘न्यूज २४’ का पत्रकार बुद्धिप्रसाद शर्मा र रातोपाटी डट कमका पत्रकार राजकुमार सिग्देललाई पनि कार्यक्रममा सम्मान गरियो ।
‘ट्रेड युनियन आन्दोलन र श्रम’सम्बन्धी विषयमा खोजमूलक समाचार प्रकाशन र प्रसारण गरेको भन्दै उहाँहरुलाई सम्मानित गरिएको आयोजकले बताएका छन् । रासस
No comments:
Post a Comment