भक्तपुर, ७ जेठ । मध्यपुरथिमि नगरपालिका–१४ र अनन्तलिङ्गेश्वर नगरपालिका– २ र ५ (साबिक बालकोट गाविस ३ र ९) को सिमानामा पर्ने हनुमन्ते खोला किनारको जग्गा एक ब्लक कारखानाले अतिक्रमण गरी सात वर्षदेखि उपभोग गर्दै आइरहेको बालकोटका स्थानीय जग्गा धनीले आरोप लगाएका छन् ।
उनीहरुले आज पत्रकार सम्मेलन गर्दै जग्गाको धनीपुर्जा भए पनि आपूmहरुले जग्गा उपभोग गर्न नपाएको गुनासो गरे । हनुमन्ते खोलाको धार परिवर्तन हुँदा सो क्षेत्रको करिब ४० रोपनी जग्गाका विषयमा सात वर्षदेखि विवाद हुँदै आइरहेको छ । हनुमन्ते खोलाको बहाब परिवर्तन गरी उत्तरबाट दक्षिण बालकोटतर्फ सरेर जाँदा व्यक्तिका नाममा दर्ता भएको जग्गामा खोला बग्न गएको र हाल हनुमन्ते खोलालाई २०२१ सालको नापी नक्सा अनुसारको स्थानमा बालकोटबासीले फर्काउन खोज्दा विवाद उत्पन्न भएको हो ।
मध्यपुरवासीले खोलाको प्राकृतिक बहाब व्यक्तिगत लाभका लागि परिवर्तन गर्न नहुने र सो जग्गा सार्वजनिक कायम गर्दै सार्वजनिक हितमा प्रयोग हुनुपर्ने माग राख्दै आइरहेका छन् । सो स्थानमा रहेको बालकोट जाने बाटाको पुल समेत व्यक्तिगत जग्गामा रहेको छ ।
विवादास्पद सो जग्गाको सम्बन्धमा आफूहरुले पुनरावेदन अदालत, जिल्ला प्रशासन कार्यालय, मध्यपुरथिमि र अनन्तलिड्गेश्वर नगरपालिकामा प्रमाणस्वरुप जग्गाधनी प्रमाण पुर्जा बुझाए पनि जग्गा भने भोगचलन गर्न नपाएको स्थानीयवासी प्रदीप कार्कीले बताउनुभयो । उहाँले सोही ४० रोपनी जग्गाको ठूलो हिस्सा ब्लक कारखानाले अतिक्रमण गर्दा पनि स्थानीय प्रशासन मौन बसेको र उल्टै प्रशासनले कारखानाको संरक्षण गरेको आरोप लगाउनुभयो । अर्का जग्गाधनी शिवशरण खत्रीले आफ्नो नाममा दर्ता कायम भएको जग्गा आफैंले उपयोग गर्न नपाउँदा समेत राज्यबाट न्याय नपाएको दुःखेसो गर्नुभयो ।
सो जग्गाका सम्बन्धमा केही साता पहिले पनि विवाद उत्पन्न हुँदा जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले सो जग्गाको विषयमा ठोस अध्ययन गर्न समिति गठन गरेको थियो । सोही समितिको अनुरोधपछि नापी कार्यालय भक्तपुरले स्थलगत अध्ययन गरी गत वैशाख १५ गते जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा हनुमन्ते खोलामा आएको बाढीका कारण खोलाले धार परिवर्तन हुँदा निजी जग्गामा खोला बगेको र साबिकमा खोला बगेको स्थानका जग्गामा ब्लक कारखाना रहेको उल्लेख गरिएको बताइएको छ ।
यसैबीच आजै मध्यपुरथिमिका स्थानीय बासिन्दाले सो विवादास्पद जग्गामा अनधिकृतरुपमा खनिएको भनिएको खाल्डो पुरेका छन् । मध्यपुरथिमि नगरपालिका र स्थानीय राजनीतिक दलको संयुक्त नेतृत्वमा सयौंँ जनाको समूहले खाल्डो पुरेको हो ।
विवादास्पद जग्गाका सम्बन्धमा यही जेठ ४ गते मध्यपुरथिमि नगरपालिका र अनन्तलिंगेश्वर नगरपालिकाबीचको संयुक्त बैठकले सो स्थानमा नगरपालिकाको स्वीकृतिबिना कुनै प्रकारको माटो काट्ने, जमिन खन्ने र खोलाको बहाब परिवर्तनको कार्य रोक्का राख्ने निर्णय गरेको थियो ।
हनुमन्ते खोला सङ्घर्ष समितिका संयोजक विजय श्रेष्ठले व्यक्तिको स्वार्थका लागि खोलाको बहाब परिवर्तन गर्न नहुने बताउनुभयो । उहाँले हालको विवादास्पद स्थानदेखि १०० मि उत्तरतर्फ चाणक्य कलेज रहेको स्थानमा पनि खोलाको बहाब परिवर्तन हुँदा व्यक्तिको जग्गामा खोला बगेको अवस्था भएको बताउँदै सबैलाई न्याय हुने तरिकाले प्रशासनले आवश्यक निर्णय गर्नुपर्छ भन्नुभयो । रासस
No comments:
Post a Comment