चौतारा, १५ जेठ । सिन्धुपाल्चोकको जुरे पहिरोबाट विस्थापित परिवारले पनि भूकम्पपीडित सरह पुनर्निर्माणको लागि रु दुई लाख अनुदान पाउने भएका छन् ।
विसं २०७१ साउन १७ गतेको पहिरोमा धन, जन तथा बासस्थान गुमाउने परिवारले झण्डै दुई वर्षपछि अनुदान पाउने भएका हुन् ।
जुरे पहिरोपीडित परिवारको पुनःस्थापनाका लागि विभिन्न सङ्घ संस्था तथा व्यक्तिबाट अर्थ सहयोग सङ्कलन भएको थियो । सो रकम जिल्ला दैवी प्रकोप उद्धार समितिले खोलेको बैंक खातामा जम्मा गरिएको थियो । यसरी सङ्कलित रु दुई करोड २५ लाख विस्थापित परिवारलाई पुनर्वासका लागि उपलब्ध गराउने कार्यक्रम रहेपनि केन्द्रीय दैवी प्रकोप उद्धार समितिले खाता रोक्का गरेको थियो ।
रोक्का खाता फुकुवा गरी पीडित परिवारलाई भुकम्पपीडित सरह रु दुई लाख अनुदान दिन जिल्ला दैवी प्रकोप उद्धार समितिले गरेको सिफारिसलाई केन्द्रीय दैवी प्रकोप उद्धार समितिले हालै अनुमोदन गरी पठाएको सहायक प्रजिअ अन्तरबहादुर सिलवालले जानकारी दिनुभयो । “तत्कालीन अवस्थामा पुनर्निर्माणका लागि कति रकम दिने भन्ने कुनै निर्णय भएको थिएन”– उहाँले भन्नुभयो,–तत्कालीन अवस्थामा किरिया खर्च रु ४० हजार र राहत स्वरुप रु एक लाख मात्र दिइएको थियो । निर्णय भएपछि अनुदान दिन अब सहज भएको छ ।”
विस्थापित परिवारले हिउँद चिसो र वर्षाको झरी सहँदै सोही क्षेत्र आसपास त्रिपाल र टहरोमा कष्टकर जीवन बिताउँदै आएका थिए । विस्थापितलाई त्यहाँ बसाउन जोखिमपूर्ण हुने भनी भूगर्भविदले निष्कर्ष निकाले पनि आफ्नो थातथलो छाडेर अन्यत्र जान उनीहरुले नचाहेपछि सोही क्षेत्र आसपास बस्दै आएका छन् ।
पीडितले पुनःस्थापनाका लागि पटकपटक सम्बन्धित निकायमा आग्रह गरेपनि माग सुनुवाइ नभइरहेकै अवस्थामा गतवर्षको भूकम्पले उनीको माग ओझेलमा परेको थियो । घटनाको झण्डै दुई वर्षपछि अनुदान पाउने हँुदा झिनो आशा पलाएको पीडित परिवारको प्रतिक्रिया छ ।
“अहिलेको परिस्थितिमा दुई लाख रकमले के नै हुन्छ र ?”–माङ्खा १ का बलराम श्रेष्ठले भन्नुभयो, “जे होस ढिलैभए पनि हाम्रो समस्याको पनि सम्बोधन भएको छ ।”
जुरे पहिरोमा २१९ घरका एक हजार १५८ परिवार विस्थापित भएका थिए । विस्थापित र मृत्युवरण गर्ने सबैभन्दा बढी माङ्खा–१ र त्यसपछि टेकनपुर, धुस्कुन र राम्चे गाविसका छन् । पहिरोमा १३७ घर पुरिएको र १८ घर तालमा डुबेर क्षतिग्रस्त भएको थियो ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार ५० बालबालिकासहित १४५ जनाले पहिरोमा ज्यान गुमाएका थिए । रासस
No comments:
Post a Comment