बुटवल, १९ वैशाख । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले सरकारले समृद्धिको जग बसाल्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको बताउनुभएको छ ।
सरकारले ल्याउने नीति तथा कार्यक्रममार्फत देशको मुहार फेर्ने खालको बजेट ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । एक सय सत्ताइसौँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट), लुम्बिनी–राप्ती अञ्चल समन्वय कमिटीले आज बुटवलमा आयोजना गरेको मजदुर सभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले संविधान जारी भएपछि मुलुक आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै नेता ज्ञवालीले सरकारले सोही आधारमा योजना बनाइरहेको बताउनुभयो ।
नेता ज्ञवालीले मजदुरलाई अब सत्ता साझेदार र समृद्धिको असली संवाहकका रुपमा काम गर्न पनि आग्रह गर्नुभयो । उहाँले श्रमजीवी वर्गका पक्षमा संविधानमा अधिकार स्थापित गरिए पनि त्यसलाई कार्यान्वयन गर्न जरुरी रहेको भन्दै आर्थिक समृद्धिको पाटो सवल भयो भनेमात्रै सबैका अधिकार कायम हुने बताउनुभयो ।
संविधान जारी भएसँगै मुलुकको सार्वभौमसत्ता र अधिकारमाथि अनेक नाममा हस्तक्षेप भएको र त्यो हस्तक्षेपलाई परास्त गरी जनताको एकताको बलमा नेपालले राष्ट्रियताको लडार्इं जितेको बताउनुभयो । रासस
––––––––
No comments:
Post a Comment