काठमाडौँ, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानी राजदूत डा मजहर जाबेदले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल सधैँ शान्ति, पारस्परिक विश्वास, समझदारी र लाभको पक्षमा रहेको चर्चा गर्दै त्यसकै आधारमा नेपाल–पाकिस्तान सम्बन्ध अघि बढ्ने बताउनुभयो । उहाँले छिमेक र मित्रराष्ट्रबीच अनावश्यक तनाव, अविश्वास र असमझदारीको अन्त्य गरी आर्थिक विकासको पथमा अघि बढ्नुपर्ने बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालले नयाँ संविधान जारी गरी जनताका आकाङ्क्षाको सम्बोधन गरेको र अब नेपाल संविधान कार्यान्वयन र आर्थिक विकासका चरणमा अघि बढेको बताउनुभयो । सभ्यता, संस्कृति, भाषा र मानवीय मूल्य मान्यताका दृष्टिकोण दक्षिण एसिया अघि रहेको र अब विकासमा समेत अघि बढ्ने प्रशस्त सम्भावना रहेको भन्दै उहाँले त्यसलाई आपसी विश्वास र समझदारीका आधारमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
शिष्टाचार भेटमा राजदूत जाबेदले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक सम्बन्ध घनिष्ट र प्रगाढ रहेको भन्दै थप बलियो बनाउन चाहेको बताउनुभयो । उहाँले नेपालमा जस्तै पाकिस्तानमा पनि अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतापूर्ण सुनिश्चित गरिएको र बलियो नागरिक समाज रहेको बताउनुभयो ।
उहाँले शिक्षाको क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न सकिने भन्दै नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति बढाउने सोच पाकिस्तान सरकारको रहेको बताउनुभयो । चीनसँगको असल सम्बन्धले पाकिस्तानले विकास गरेकोसमेत राजदूत जाबेदले बताउनुभयो । रासस
No comments:
Post a Comment