Monday, June 20, 2016

प्रम ओलीबाट तथ्याङ्कसम्बन्धी पाँच पुस्तक सार्वजनिक

काठमाडौँ, ६ असार । तथ्याङ्कसम्बन्धी विभिन्न जानकारी समेटिएका पाँच पुस्तक सार्वजनिक भएका छन् । तथ्य तथ्याङ्क प्रकाशन प्रालिले प्रकाशनमा ल्याएको ‘तथ्याङ्कमा राजधानी उपत्यका’, ‘तथ्याङ्कमा काठमाडौँ’, ‘तथ्याङ्कमा ललितपुर’ ‘तथ्याङ्कमा भक्तपुर’ र ‘तथ्याङ्कमा झापा’ पुस्तक आज एकैपटक सार्वजनिक गरिएको हो ।

पुस्तकमा २०३८ देखि २०६८ सम्मका जनसङ्ख्या, गाविस, नगरपालिका अनुसार जनसङ्ख्या र परिवार सङ्ख्या, शैक्षिक, आर्थिक, भाषिक, जातीय, सामाजिक, विकासका गतिविधि आदिलाई समेटिएको छ । तथ्याङ्कको अलावा सम्बन्धित जिल्लाको भौगोलिक अवस्था, हावापानी, सांस्कृतिक रहनसहन, पुरातात्विक महत्वका सम्पदा, जलसम्पदालगायत विषयको जानकारीसमेत पुस्तकमा छन् ।

ती पुस्तकको आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले मुलुक यतिखेर संविधान कार्यान्वयनसँगै विकासको गतिमा अघि बढेको सन्दर्भमा प्रकाशित तथ्य तथ्याङ्कसम्बन्धी पुस्तकले देश विकास, निर्माणका लागि महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

“हामी अहिले संविधान निर्माणको बाटोमा अघि बढेका छौँ, त्यससँगै विकासका कामलाई प्रभावकारी रुपमा अघि बढाउन लागेको सन्दर्भमा तथ्याङ्कलाई देश विकास र सामाजिक सद्भाव कायम गर्न उपयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिई सही तथ्य तथ्याङ्कको प्रयोग गरी सबै जनताले अनुभूत गर्ने गरी विकासको प्रतिफल दिन जरुरी छ,”–उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले भौगोलिक, जातीय, भाषिक र विकासको विविधतामा एकतातर्फ अघि बढेको नेपाललाई केही तत्वले अरु कसैको उक्साहटमा भड्काउन खोजेपनि त्यसलाई जनताले असफल तुल्याइदिएकाले अहिले मुलुक राष्ट्रिय एकताको दिशामा गएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तथ्याङ्क नेपालको चित्र झल्कने भएकाले विकासलाई प्रभावकारी र परिणाममुखी बनाउन पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले तथ्य तथ्याङ्कसँगै विभिन्न विषयको सूचना पनि समावेश गरिएको पुस्तकले सरकारी नीतिनिर्माण र देश विकासका लागि महत्वपूर्ण सहयोग पुग्नेछ, भन्नुभयो ।

नेपाल नगरपालिका सङ्घका उपाध्यक्ष अशोक बेञ्जु र जिल्ला विकास समिति महासङ्घका प्रवक्ता कृष्णप्रसाद जैसीले मुलुकको विकास, खासगरी स्थानीय निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन पुस्तक सान्दर्भिक हुने उल्लेख गर्नुभयो ।

तथ्य तथ्याङ्क पुस्तकका लेखक होमनाथ कट्टेलले जिल्ला, नगरपालिकाका लागि आवश्यक पर्ने तथ्याङ्क समेटिएको पुस्तक देश विकाससँगै विद्यार्थी, लोकसेवा आयोग तथा विभिन्न सङ्घ संस्थाका लागि उपयोगी हुने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts