Monday, June 27, 2016

राष्ट्रपतिद्वारा चार स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान

काठमाडौँ, १३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको गीत–संगीत र नाट्य क्षेत्रमा योगदान पु¥याएबापत चार स्रष्टालाई आज ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’ प्रदान गर्नुभएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने पुरस्कार यहाँ आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले वरिष्ठ सङ्गीतकार तथा वेलावादक गोपालनाथ योगी, वरिष्ठ लोकगायक प्रचण्डबहादुर बुढाथोकी, वरिष्ठ नाट्यकर्मी महेन्द्र मलङ्गिया र वरिष्ठ नाट्य कलाकार शकुन्तला गुरुङ शर्मालाई प्रदान गर्नुभयो । सो पुरस्कारको राशि जनही रु एक लाख एक छ ।
विसं १९९२ माघ ४ गते पाल्पामा जन्मिनुभएका योगीले २०१८ सालदेखि रेडियो नेपालमा कार्यक्रम गर्नाका साथै २०२२ देखि २०५२ सालसम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा वाद्यसङ्गीत निर्देशकका रूपमा काम गर्नुभएको थियो ।
त्यस्तै विसं १९९९ फागुन २८ गते अर्घाखाँचीमा जन्मिुभएका बुढाथोकीले लोकसङ्गीत, लोकगायन, लोकसाहित्यको अनुसन्धान र प्रगतिशील सङ्गीत क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएको छ ।
त्यसैगरी सन् १९४६ जनवरी २० मा भारतको विहारमा जन्मिनुभएका मलङ्गिया ४५ वर्ष नेपालमा शिक्षण सेवामा कार्यरत रहनुभयो । यस्तै विसं २००८ माघ ३० गते काठमाडौँमा जन्मिनुभएका गुरुङ ११ वर्षको उमेरदेखि हालसम्म पनि नाट्यकर्ममा निरन्तर लाग्दै आउनुभएको छ ।
यसअघि सो पुरस्कार वरिष्ठ नाटक निर्देशक हरिप्रसाद रिमाल, वरिष्ठ सङ्गीतकार चन्द्रराज शर्मा, वरिष्ठ नृत्य निर्देशक भैरववहादुर थापा र वरिष्ठ वाद्यवादक न्ह्ुच्छेबहादुर डङ्गोललाई प्रदान गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले सङ्गीत, नाट्य र नृत्य मानव जीवनका विशिष्ट पक्ष भएको र तिनले सिङ्गो राष्ट्रको पहिचान, संस्कृति र विशेषतालाई प्रतिनिधित्व र प्रतिविम्बन गरेको बताउनुभयो ।
“नेपाल विभिन्न अनुपम र मौलिक संस्कृतिको सम्मिश्रणबाट बनेको विविधताबीच एकता कायम भएको मुलुक हो, हाम्रो समाज सबै विशिष्ट संस्कृति, जनजाति समुदाय र भाषाभाषीबीच समन्वय र अन्तरनिर्भरताको उदाहरण समेत हो”– राष्ट्रपतिले भन्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जीवित संस्कृतिका रुपमा रहेका गीत–सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण र प्रबद्र्धन गर्दै ती सङ्घसंस्थालाई सबैको साझा संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरूभक्तले राजनीतिक र सामाजिक कारणले लोपोन्मुख धेरै नेपाली जातीय सङ्गीत, नाटक र नृत्यकलाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले पुरस्कारको राशि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान बहुजातीय, बहुभाषीय र बहुसांस्कृतिक मुलुक नेपालको सङ्गीत तथा नाट्य विधाको संरक्षण, सम्बद्र्धनसँगै अनुसन्धान गर्ने उद्देश्यले सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन, २०६४ बमोजिम स्थापना भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts