Monday, June 20, 2016

योग म्याराथुनमा विश्व कीर्तिमानी मोक्तानलाई गिनिज प्रमाणपत्र

काठमाडौँ, ६ असार । योग म्याराथुनमा विश्व कीर्तिमान कायम गर्ने उत्तम मोक्तानलाई आज गिनिज वल्र्ड रेकर्डसबाट प्राप्त प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

यहाँ आज विश्व दर्शन अभियानले आयोजना गरेको कार्यक्रममा योग तथा प्राकृतिक चिकित्साका प्रमुख डा हरिप्रसाद पोखरेल मानसाग्नि, मनोक्रान्तिका गुरु डा योगी विकासानन्द, वाल्मीकि विद्यापीठका प्रमुख लालमणि पाण्डे, र योग विभाग प्रमुख यतिप्रसाद भट्टराईले संयुक्त रुपमा मोक्तानलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । मोक्तानलाई अभियान केन्द्रका तर्फबाट पनि अभिनन्दनपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा प्राकृतिक चिकित्साविद् डा पोखरेलले योगको जन्मभूमि नेपाल भएको कुरा संविधानमा लेख्न चुकेको उल्लेख गर्दै नेपालका शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता सबै योगको धरातल भई आएकाले योगको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । मोक्तानको सफलताले विश्वमा नेपालको नाम अझ उँचो भएको बताउँदै उहाँले नेपालमा योगको भविष्यको प्रचुर सम्भावना रहेकाले यसको प्रचारप्रसारमा जोड दिनुभयो ।
मनोक्रान्तिका गुरु डा विकासानन्दले महान् बन्नका लागि महत्वाकाङ्क्षाले सकारात्मक भूमिका खेल्ने हुँदा सधैँ नयाँ काम गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ भन्नुभयो । अभियानका अध्यक्ष नवराज भट्टराई र महासचिव नारायणप्रसाद भट्टराईले मोक्तानको योग कीर्तिमानले देशको गौरव बढाएको बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थ भट्टराईले युवाले चाहेमा आफ्नो र देशको गरिमालाई विश्वसामु बढाउन सक्ने उदाहरण मोक्तान भएको विचार राख्नुभयो ।
कीर्तिमानी मोक्तानले आफूले आठ वर्षदेखिको कडा मिहेनतका कारणले सफलता पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यसका लागि निरन्तर प्रयास गरेको थिएँ, डा विकासानन्दको प्रेरणाले देशलाई विश्वमा चिनाउन पाएँ ।” ‘गिनिज वल्र्ड बुक अफ रेकडर्स’का अनुसार यसअघि २०१५ फेबु्रअरी १५ मा भारतका योगराज सिपीले ४० घन्टा १५ मिनेट योगासन गरी विश्व कीर्तिमान राख्नुभएको थियो ।

मोक्तानले ५० घन्टा १५ मिनेटसम्म योग म्याराथुन गर्नुभएको थियो । वाल्मीकि विद्यापीठमा २०७२ पुस २ गते बिहान ११ बजेदेखि सुरु भएको सो म्याराथुन पुस ४ गते अपराह्न १ बजेर १५ मिनेटसम्म गरी उहाँले कीर्तिमान राख्नुभएको थियो । यसैबीच अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपाल सरकारले मोक्तानलाई सम्मान गर्ने भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts