रौतहट, २१ जेठ । सरस्वती युवा क्लब चन्द्रनिगाहपुरको आयोजनामा जारी गणेशमानसिंह स्मृति राष्ट्रिय टि–ट्वान्टी नक आउट क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा काठमाडौँ र कलैया विजयी भएका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको विराट क्रिकेट सोसाइटी झापा–११ ले निर्धारित २० ओभरमा अल आउट भएर ८९ रन बनाएको थियो । झापाका लागि पुष्प थापाले १९ र नीरज ठाकुरले १५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । झापाका लागि राष्ट्रिय क्रिकेट खेलाडी महबुब आलम, राजवीर सिंह र पुष्प थापाले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
झापालाई सस्तैमा समेट्ने क्रममा काठमाडौँका दीपेन्द्र ऐरीले महत्वपूर्ण ४ विकेट लिएका थिए भने क्याप्टेन भुवन कार्कीले पनि २ विकेट हात पारेका थिए । चार ओभरसम्ममा ४ विकेट गुमाएको काठमाडाँैलाई दबाबमा राख्न झापा केही हदसम्म सफल भए पनि अन्ततः काठमाडाँैले १५.५ ओभरमा ५ विकेटले खेल जितेको थियो ।
काठमाडौँका लागि राष्ट्रिय खेलाडी भुवन कार्की, प्रदीप ऐरी, दीपेन्द्र, रुपेश श्रीवास्तव, ललित भण्डारी र आशिष पोखरेल सहभागी थिए । प्रतियोगितामा ‘म्याद अफ दि म्याच’ दीपेन्द्र भएका थिए ।
यसैगरी दोस्रो खेलमा कलैया–६ विकेटले विजयी भएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको जनकपुरले १९.३ ओभरमा अल आउट हुँदै ९९ रन बनाएको थियो । खराब सुरुआत जनकपुरका लागि एमड अक्सरले १७ तथा शोभाकान्त पाण्डेले १३ बाहेक अन्यले खासै रन जोड्न सकेनन् ।
जनकपुरलाई सस्तैमा समेट्न सागर गुप्ताले ४ विकेट आशितोष कटेल र हर्षाद अहमदले समान २÷२ विकेट लिएका थिए । सय रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको कलैयाले १७.२ ओभरमा लक्ष्य पूरा गरेको थियो । कलैयाका लागि शिव तन्डुकारले नट आउट ३६ रन बनाएका थिए भने राज यादवले १४ रनको योगदान दिएका थिए । जनकपुरका लागि गोपालसिंहले २ विकेट तथा शोभाकान्त र राजु मोहम्मदले समान १÷१ विकेट लिएका थिए । प्रतियोगितामा कलैयाका सागर गुप्ता म्यान अफ द म्याच भएका थिए जसले ४ ओभरमा ४ विकेट लिएका थिए ।
शनिबारको पहिलो खेल भैरहवा र सिरहा तथा दोस्रो खेल राजविराज र युनाइटेड क्रिकेट क्लब वीरगन्जबीच हुने आयोजक संस्थाले जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment