Wednesday, June 29, 2016

ग्राहकको रोजाइ बाजेको सेकुवा

काठमाडौँ, १५ असार । आजभन्दा ४१ वर्षअघि तराईबाट राजधानी घुम्न आउनुभएका सामान्य किसान दीनानाथ भण्डारीले राम्रो खाना नास्ताका लागि बनाएको सोचको उपज नै आजको ‘बाजेको सेकुवा कर्नर’ हो ।

‘क्लक बि बिजिनेस इन्नोभेसन्स’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा आफ्नो सफलताको कथा सुनाउँदै ‘बाजेको सेकुवा कर्नर’ का अध्यक्ष चेतन भण्डारीले भन्नुभयो, “राम्रो पकाउन जान्ने र मिठो खाना खाने बुबाको सौखिन बानी थियो, उहाँ पहिलेदेखि नै दसैँका बेला घरमा काटेको खसीको मासुको विभिन्न परिकार बनाउनु हुन्थ्यो ।” ठूलो हवाईजहाज हेर्न भनेर त्रिभुवन विमानस्थल गएका बेला दीनानाथले राम्रो खाना नास्ता खाने ठाउँ नपाएपछि आफ्नो सीप प्रयोग हुने र व्यापार पनि राम्रो हुन्छ भन्ने ध्येयले विमानस्थल छेउको चौरमा सेकुवा पोल्न सुरु गर्नुभयो ।

कुनै भाडा नतिरी चौरमा सेकुवा पोलेर सामान्य कारोबार गरिरहेका भण्डारी दम्पती एक दिन नगरपालिकाका कर्मचारीबाट लखेटिएको घटनाले उहाँका छोरा चेतनको मन छोयो । त्यतिन्जेलसम्म विमानस्थलका कर्मचारी र त्रिभुवन विमानस्थल भन्सारमा सामान लिन आउने व्यापारीको खाजा खाने स्थलको रुपमा उहाँको सेकुवा प्रचलित हुँदै गएको थियो ।

त्यसलगत्तै घर सल्लाहपछि व्यवसाय कतै साराँै भनेर सिनामङ्गल नजिकैको खाली चौरको एक कुना भाडामा लिएर व्यावसायिक रुपमा सेकुवा पोल्न सुरु गरेको अध्यक्ष चेतनले स्मरण गर्नुभयो । यसरी सुरु भएको बाजेको सेकुवा व्यवसाय आज काठमाडौँंका १० तथा पोखरा र चितवनमा एक एक ठाउँमा शाखा विस्तार भइसकेको छ । त्यसमध्ये छवटा आफँै र छवटा आङ्गिक स्वामित्वका रुपमा सञ्चालनमा छन् । करिब ३०० जनाले प्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् ।

खसीको सेकुवाबाट सुरु भएको उक्त व्यवसायले आज ताजा र मिठो खानपिनका लागि मुलुकमै ख्याति कमाएको छ । दौरा सुरुवाल मात्र लगाउने ब्राह्मण जातिका भण्डारीलाई सुरुमा सेकुवा खान आउने ग्राहकले बाजे भनेर सम्बोधन गर्ने गर्थे । कालान्तरमा त्यही नाम उक्त व्यवसायको ब्राण्ड बनेको छ ।

अध्यक्ष भण्डारीले भन्नुभयो, “यो नाम हामीले कहीँ लेखेको वा राखेको नाम होइन ग्राहकले आफैँले दिएको नाम हो, पछि त्यही नाम ब्राण्ड भयो ।” गुणस्तरमा आधारित रहेर मूल्य निर्धारण गर्नु र ग्राहकलाई सन्तुष्ट पार्नु चुनौतीपूर्ण रहेको उहाँ बताउनुहुन्छ । खपत हुने अधिकांश खसी भारतबाट आयात गर्ने गरेको जानकारी गराउँदै उहाँले भन्सार शुल्क तिर्दा पनि यहाँको मूल्यभन्दा सस्तो पर्ने गरेको बताउनुभयो ।

नेपाली समाजमा खसीको मासु खाने चलन निकै प्रचलित भए पनि विस्तारै रातो मासु कम खानुपर्छ भन्ने चेतनाका कारण ग्राहकले आजभोलि अन्य खाजाको तुलनामा मासु थोरै खाने गरेको उहाँको अनुभव छ । “नाम नै सेकुवा कर्नर भएकाले शाकाहारी मानिस जान हिच्किचाउँछन् तर हाम्रोमा शाकाहारी सेकुवा पनि पाइन्छ,” अध्यक्ष भण्डारीले भन्नुभयो ।

साझा मञ्च सिर्जना गरी एक व्यापारले अर्काे व्यापारलाई सञ्जालमार्फत कसरी सहयोग गर्न सक्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा उद्यमी क्षेत्रका नयाँ प्रवेशी, विभिन्न क्षेत्रका व्यापारी, विद्यार्थीलगायतका ५०० बढी युवाको सहभागिता रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts