काठमाडौँ, २३ जेठ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पशुपति मन्दिर क्षेत्र, महाकाल मन्दिरलगायतका धार्मिक क्षेत्रमा आज छापामारी अवैध घरेलु मदिरा बिक्री वितरणमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाशुपत क्षेत्र र महाकालस्थान मन्दिर परिसरमा रहेको अवैध घरेलु मदिरा तथा बिनाइजाजत बिक्री वितरणका लागि राखिएका मदिराका कार्टुन पाँच थान, मदिराको बोतल प्याक गरी राखिएको बोरा ११ थान, घरेलु मदिरा राखिएको बोतल दुई थान तथा मदिराका जर्किन दुई थानसहित सातजना व्यवसायी नियन्त्रणमा लिई थप कारबाही प्रक्रिया अघि बढाइएको काठमाडौँका सहायक प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
बस्नेतको नेतृत्वमा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाह, गौशाला प्रहरी वृत्तका प्रमुख नवराज कार्की र बिशालबजार जनसेवा वृत्तका प्रमुख विनोद घिमिरे, करदाता सेवा कार्यालयसहितको टोलीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।
प्रजिअ रामकृष्ण सुवेदीले धार्मिकस्थलमा अवैध मदिराको बिक्री वितरण र त्यसका कारण झगडा हुने गरेको गुनासोका आधारमा छापा मारिएको बताउनुभयो । उहाँले काठमाडौँका अन्य धार्मिक स्थानमा पनि त्यस किसिमका गतिविधि हुने गरेको गुनासो आएको भन्दै छापामार्ने कार्यलाई निरन्तरता दिइने बताउनुभयो । रासस
No comments:
Post a Comment