काठमाडौँ, ७ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमाथि छलफल जारी छ ।
उक्त विधयेकअन्तर्गत आज वाणिज्य, विज्ञान तथा प्रविधि, जनसङ्ख्या तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सिँचाइ, सामान्य प्रशासन र पशुपक्षी मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको बजेट मुलुक र जनताको पक्षमा बहुपयोगी भएको बताउनुभयो ।
प्रतिपक्षी दलका सांसदले भने बजेट यर्थाथको नजिक नरहेको भन्दै आलोचना गर्दै सुधार गर्नुपर्नेमा जोड दिनुभयो । सांसदले सरकारले प्रस्तुत गरेको बजेट ‘खण्डवृष्टि’ जस्तो भएको भन्दै कुनै जिल्लामा अत्याधिक विनियोजन गरिएको तर केही जिल्लाका महत्वपूर्ण आयोजनालाई समेत वास्ता नगरिएको धारणा राख्नु भयो ।
सिँचाइ मन्त्रालयअन्तर्गत अगाडि बढाइएको परियोजना नयाँ नभएको भन्दै उहाँहरुले कृषि क्षेत्रको विकासका लागि निर्माणाधीन आयोजना मात्रै अगाडि बढाउन सकिए उत्तम हुने भए पनि त्यसतर्फ ध्यान नदिइएको गुनासो गर्नुभयो । गौतम बुद्धको जन्मस्थलसँग जोडिएको लुम्बिनी, कपिलवस्तु, रामग्रामलगायत स्थानको विकास र विस्तारका लागि विकासको दीर्घकालीन योजना बनाउनुपर्ने र बजेटको व्यवस्था गर्नुपर्नेमा त्यसो नभएकामा सांसदको आपत्ति थियो ।
सरकारले हरेक गाविसमा हेलिप्याड निर्माण गर्ने लक्ष्य राखेको भए पनि त्यसको उपादेयताको विषयमा प्रष्टताको जरुरी रहेको भन्दै उहाँहरुले पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि विशेष जोड दिनुपर्ने उल्लेख गर्नुभयो । कर्णाली क्षेत्रको विकासका लागि पर्याप्त बजेटको व्यवस्था नगरिएको, सो क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि कुनै पनि ठोस कार्ययोजना प्रस्तुत नभएको भन्दै सत्ता पक्षकै सांसदले समेत बजेट कार्यक्रममुखी नभएको गुनासो गर्नुभयो ।
तराई मधेसमा तराई मधेस समृद्ध सिँचाइ आयोजना सुरु गरिएको भए पनि पहाडी तथा उच्च पहाडी क्षेत्रमा सिँचाइ कार्यक्रम नराखिएका प्रति पनि सांसदले आपत्ति जनाउनुभयो । पटकपटक आग्रह गरिएपनि भूकम्प प्रभावित जिल्लामा गाविस सचिव नभएको र सरकारका काम कारबाहीलाई लागू गर्न नसकिएको भन्दै सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
यसरी धारणा राख्नेमा रामचन्द्र पोखरेल, गङ्गागाल तुलाधर, धनीराम शर्मा, शिवचन्द्र चौधरी, राज्यलक्ष्मी श्रेष्ठ(नुवाकोट), नारायणमान बिजुक्छे, दुर्गा पौडेल, मिथिला चौधरी, भीष्म अधिकारी, कलसादेवी महरा, राज्यलक्ष्मी श्रेष्ठ(काठमाडौँँ), श्यामप्रसाद ढकाल, ललिताकुमारी रेग्मी, रेशम बानियाँ, गुरुप्रसाद बुर्लाकोटी, ज्ञानकुमारी छन्त्याल, ललितजङ्ग शाही, राजेन्द्रकुमार केसी, सिन्धु जलेशा बुढाथोकी, कौशल साह, विदुरप्रसाद सापकोटा, शारदा पौडेल, हितराज पाण्डे, नरबहादुर थापा मगरलगायत हुनुहुन्छ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार ८ गते बुधबार बिहान ११.०० बजे बस्नेछ । रासस
No related posts.
No comments:
Post a Comment