बर्दिवास, १ असार । व्यवस्थापिका संसद्का सदस्य एवम् राप्रपा नेपालका सह–महामन्त्री सुशीलकुमार श्रेष्ठले लोकतान्त्रिक विधि र प्रक्रियाको सम्मानकै लागि आपूmहरुले वर्तमान संविधान स्वीकारेको बताउनुभएको छ ।
महोत्तरीको बर्दिवासमा आज राप्रपा नेपाल महोत्तरीको १ नम्बर क्षेत्रीय अधिवेशनको उद्घाटन गर्नुहुँदै सांसद श्रेष्ठले संविधानका प्रस्तावना, विभिन्न धारा र अनुसूचीमा आफ्नो दलको फरक धारणा रहँदारहँदै लोकतान्त्रिक विधि र प्रक्रियाले पारित गरेकाले आफ्नो दलले लोकसम्मतिको सम्मान गरेको प्रष्ट्याउनुभयो ।
आफ्नो दलले धर्मनिरपेक्ष, गणतन्त्र र सङ्घीयताबारे फरक धारणा राखे पनि तत्कालीन संविधानसभाको दुई तिहाइ भन्दा बढी मतले सो मान्यता पारित गरेको सन्दर्भ स्मरण गर्दै सांसद श्रेष्ठले अब आफ्ना मान्यता स्थापित गर्न संसद्भित्रै लोकतान्त्रिक विधिले क्रियाशील रहने उल्लेख गर्नुभयो ।
आफ्नो दलले संविधानमा सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र र अखण्ड नेपाल (सङ्घीयताका ठाउँमा स्थानीय स्वायत्त शासन) हुनुपर्ने धारणा राख्दै संविधान निर्माण प्रक्रियामा सरिक भई घोषित संविधानका विरुद्घ मतदान नै गरेको श्रेष्ठको भनाइ थियो ।
संविधानका मूलभूत कुरामै फरक मत रहँदारहँदै लोकतान्त्रिक विधि र प्रक्रियाको सम्मान गरेर आफ्नो दलले वर्तमान संविधान स्वीकारेर अघि बढेको श्रेष्ठले स्पष्ट पार्नुभयो ।
आज सम्पन्न क्षेत्रीय अधिवेशनले यानिखर गौतमको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन गरेको राप्रपा नेपाल महोत्तरीले जनाएको छ ।
अधिवेशनको समापन सत्रमा सो दलका जिल्ला अध्यक्ष प्रमोदकुमार सिंह, जिल्लाका वरिष्ठ उपाध्यक्ष कृष्ण देवकोटा र सो दल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका केन्द्रीय संयोजक उज्वल पोखरेलसहितका वक्ताले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई बधाइ ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो । रासस
–––––––
No related posts.
No comments:
Post a Comment