भीमदत्तनगर, २५ जेठ । सरकारले कमैयाबाट मुक्त गरेपछि २०६० सालदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाइकी ३६ वर्षीया बन्ध्या डगौँंराले सरकारले उपलब्ध गराएको जग्गामा तरकारीखेती सुरु गरिन् ।
कमैयाबाट मुक्त भएपछि पारिवारिक व्यवस्थापनमा थुप्रै समस्यासित जुध्दै पाँच कट्ठा जग्गाका तरकारीखेती सुरु गरेकी बन्ध्याले छोटो समयमै मनग्य आम्दानी गरेर सम्पत्ति जोड्न सफल भएकी छन् ।
‘सुरुमा त तरकारीखेती गर्न ऋण लिनुस् भन्दा डर लाग्थ्यो,’ अहिले मुक्तकमैया शिविरमा सक्रिय रुपमा देखिएकी बन्ध्याले रासससँग भनिन् – ‘अहिले तरकारी खेतीबाट गाउँमा थप पाँच कट्ठा जग्गा किनिसकें ।’ उनले रु पाँच लाख तरकारीबाट आम्दानी गरेर जग्गा खरिद गरेको बताइन् ।
गाउँमा तरकारी उत्पादनदेखि सिलाइकटाइका साथै खुद्रापसल समेत सञ्चालन गरेकी बन्ध्याले गाउँका विभिन्न सङ्घ संस्थामा पनि आफ्नो पहुँच बढाएकी छन् । ‘पहिलो वर्ष तीन कट्ठा जग्गामा ३६ बोरा आलु फलाएँ,’ उनले भनिन् –‘गाउँकै चौधरी बहुउद्देश्यीय सहकारीले आलु खरिद ग¥यो ।’ उक्त मुक्तकमैया बस्तीका दर्जनौं परिवार पछिल्ला वर्ष तरकारीखेती, बङ्गुरपालन र खुद्रा व्यापारबाट आत्मनिर्भर भन्दै गइरहेका छन् ।
गरिबी निवारण कोषले गाउँमा मुक्तकमैया परिवारको आयस्तरमाथि उकास्न अनुदान दिन गठन गरेको खुसी सामुदायिक संस्थाको समेत नेतृत्व सम्हालेकी बन्ध्याले तरकारी खेती लगायतका व्यवसायबाट आएको रकम समूहमा बचत गर्ने गरेको बताइन् ।
‘समूहमा बचत गर्ने र ऋण लिने क्रम चलिरहन्छ,’ उहाँले भनिन् – ‘व्यवसाय बढाउन गरिबी निवारण कोषको अनुदानले पनि सहयोग पुगेको छ ।’
श्रीमान् गाउँमै मिस्त्री काम गरिरहेका छन् । उनले आफूले कमाएको पैसाले घरखर्च चलाउनुका साथै छोराछोरीको पढाइमा लगाएकी छिन् । उनले उत्पादित तरकारीलगायतका अन्य बस्तुभाउ बिक्री गर्न बजारको कुनै समस्या नभएको बताइन् ।
गरिबी निवारणको अनुदान लिएर मुक्तकमैया शिविरमा नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ (एनएनएसडब्लुए) को टोली पुग्दा आयमूलक व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको बन्ध्याले बताइन् । सिँचाइ कार्यालयको सहयोगमा शिविरमा सिँचाइको व्यवस्था भएपछि शिविरका मुक्तकमैया अझ बढी आयमूलक व्यवसाय तर्फ लागिरहेका छन् ।
सङ्घका गरिबी निवारण कार्यक्रम संयोजक टेक बुढाले बन्ध्याको सङ्घर्षले उनको परिवारको खुसी छाएको बताउँछन् । संयोजक बुढाले भन्नुभयो – ‘अहिले त समूहकै अध्यक्ष भएर बचत गरिरहेकी छन् बन्ध्याले ।’ बन्ध्या जस्ता मुक्तकमैया शिविरका थुप्रै महिला तरकारीलगायतका आयमूलक काममा लागेका छन् । रासस
No related posts.
No comments:
Post a Comment