काठमाडौँ, २३ जेठ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसद्बाट शनिबार शिक्षा ऐन (आठौँ संशोधन) विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै तीव्रगतिमा कार्यान्वयनको तयारी भएको बताउनुभएको छ ।
ऐन पारित भएको सन्दर्भमा आज यहाँ मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पोखरेलले विद्यालय शिक्षाको संरचनामा आधारभूत परिवर्तन ल्याउन, शिक्षक व्यवस्थापनमा विगतका सहमतिको कार्यान्वयन गर्न तथा शिक्षकलाई राजनीतिभन्दा कक्षाकोठामा केन्द्रित गराउन सम्बन्धित निकायसँग परामर्श गरी तीव्र गतिमा काम हुने जनाउनुभयो ।
संशोधित विधेयकले कक्षा १० को प्रवेशिका परीक्षाको प्रावधान हटाई कक्षा १२ सम्म माध्यमिक शिक्षाको मान्यता दिएको छ भने बाल कक्षालाई पनि विद्यालयको संरचनामा ल्याएको छ । उहाँले अब निजी विद्यालय कम्पनीमा दर्ता हुन नपाउने र हाल भएका निजी विद्यालय गुठीमा परिणत हुनुपर्ने बताउनुभयो ।
विश्व शिक्षा प्रणालीसँगको समकक्षताको अनुकूल गराउन विधेयक कोसेढुङ्गा हुने र यसले विद्यालय शिक्षामा आधारभूत परिवर्तन ल्याउने भएकाले अब आफू उच्च शिक्षाको व्यवस्थापन तथा नयाँ विस्तृत शिक्षा ऐन निर्माणमा केन्द्रित हुने स्पष्ट गर्नुभयो ।
मन्त्री पोखरेलले विधेयक पारितका लागि विगतका शिक्षामन्त्री, सचिव र अन्य सबैले भूमिका निर्वाह गरेको पनि उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न पार्टीका सांसद, मन्त्रालयका उच्च कर्मचारी, पेसागत संस्था, विद्यार्थी सङ्गठन र अभिभावक संस्थाका पदाधिकारीको सहभागिता थियो ।
समायोजनका लागि कार्यदल
यसैबीच, ऐन संशोधनसँगै नयाँ बन्ने राष्ट्रिय परीक्षा बोर्डमा समायोजन हुने हालको उच्च माध्यमिक शिक्षा परिषद्का कर्मचारी समायोजनका लागि मन्त्रालयले सदस्य सचिव नारायण कोइरालाको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।
कार्यदलमा मन्त्रालयका उपसचिव, पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिलगायत छन् । परिषद्का सहसचिव दुर्गाप्रसाद अर्यालकाअनुसार परिषद्मा हाल ३६२ कर्मचारी छन् । ऐन प्रमाणिकरणपछि परिषद्का उपाध्यक्ष चैतन्य शर्मा र सदस्य सचिव कोइरालाको पद स्वतः खारेज हुनेछ । रासस
No related posts.
No comments:
Post a Comment