प्यूठान, २१ जेठ । पहिलो पटक आजबाट सुरु भएको प्रदेश नम्बर पाँचस्तरीय ‘मिडिया सम्मेलन’का लागि प्यूठानमा झन्डै २०० पत्रकार जम्मा भएका छन् ।
पवित्र धार्मिक एवम् पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीमा आज र भोलि गरी दुई दिनसम्म चल्ने सम्मेलन प्रदेश नम्बर ५ का ‘क’ वर्गका पत्रिकाका प्रकाशक तथा सम्पादक, एफएम रेडियोका व्यवस्थापक÷स्टेसन म्यानेजर, राष्ट्रियस्तरका सञ्चार माध्यमका ब्युरो प्रमुख तथा जिल्ला प्रमुख र प्यूठानका क्रियाशील सञ्चारकर्मी एकै ठाउँमा जम्मा भएका हुन् ।
स्वर्गद्वारीको पर्यटन प्रवद्र्धनसहित जिल्लाका अन्य धार्मिक एवम् पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा प्रदेश नम्बर ५ का पर्यटकीय तथा धार्मिक तीर्थस्थलको विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।
“प्रदेश नम्बर ५ मा पर्ने १२ जिल्लाका पत्रकार सहभागी भएको यस सम्मेलनमा पर्यटकीय गन्तव्यको पहिचान र विकासमा पत्रकारको भूमिकाका विषयमा छलफल गरी कार्ययोजना समेत तयार गर्ने छन्” पत्रकार महासङ्घ प्यूठानका सचिव महावीर रानाले भन्नुभयो ।
सम्मेलनमा भोलि सूचना तथा सञ्चारमन्त्री शेरधन राई, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा.महेन्द्र विष्ट, नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख सूर्य थापालगायत सहभागिता हँुदै हुनुहुन्छ । रासस
No comments:
Post a Comment