काठमाडौँ, २१ जेठ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाल कमर्श क्याम्पस मीनभवनको ५२ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उपकुलपति डा खनियाले व्यवस्थापन शिक्षा पढ्न बर्सेनि सयौँ विद्यार्थी विदेश जाने गरेकाले नेपालमै उच्च शिक्षाको व्यवस्था मिलाउन लागेको स्पष्ट पार्नुभयो ।
डा खनियाले कमर्श क्याम्पसले व्यवस्थापन क्षेत्रमा खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “क्याम्पसले सैद्धान्तिक शिक्षाभन्दा व्यावहारिक शिक्षालाई जोड दिनुपर्छ ।”
क्याम्पस प्रमुख ज्योति पाण्डेले गुणस्तरीय शिक्षाका लागि क्याम्पस लागेको बताउनुभयो ।
सो अवसरमा डा खनियाले कमर्श क्याम्पसमा काम गरेर सेवानिवृत्त भएका १५ जनालाई सम्मान गर्नुका साथै व्यवस्थापनमा स्नातक तहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभएको थियो । रासस
No comments:
Post a Comment