इटहरी, ४ असार । राजनीतिक र व्यापारिक क्षेत्रका कारण समाजमा फोहोरमैला उत्पादन हुने र जथाभावी पोस्टर पम्प्लेट प्रेसर हर्न सहितको सूचना प्रवाह आदिले मावन स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने कार्य भइरहेकाले यी दुबैै क्षेत्रबाट आफना कार्यशैलीमा आमूलपरिवर्तन गर्नुपर्ने आज यहाँ आयोजित कार्यशालाले निक्र्यौल गरेको छ ।
इटहरी उपमहानगरपालिकाको सहयोगमा पाथवे नेपाल र ग्रिनल्यान्ड फाउण्डेसनको आयोजनामा इटहरीमा फोहोरमैला व्यवस्थापन तथा वातावरण कानुन सम्बन्धी एक दिने कार्यशालामा सुनसरी मोरङ र झापा जिल्लाका नगरपालिकाका कर्मचारी तथा विभिन्न राजनीतिक दलका पदाधिकारी, होटल लज एवम् रेस्टुराँ र विभिन्न सामाजिक सङ्घ संस्थाका पदाधिकारीलाई कार्यशालामा सहभागिता गराइएको थियो ।
कार्यशालामा वातावरण कानुन विद् पद्मबहादुर श्रेष्ठले सर्वोच्च अदालतले दृष्य प्रदुषण सम्बन्धी गरेको कानुनी फैसला र यसबाट मानिसलाई प्रभाव पार्ने खालको पोस्टर होर्डिङ बोर्डलगायतका दृष्य समेतको प्रचार सामग्रीले मानव स्वास्थ्यमा पार्ने प्रभावका विषयमा व्यापक परिचर्चा गर्नुभएको थियो ।
अश्लिल वा भड्किलो दृष्यको प्रचार सामग्रीले ठूलठूला दुर्घटना हुनसक्ने सम्भावना बढ्ने तर्फ पनि सचेत हुन उहाँले आग्रह गर्नुभयो ।
सोही अवसरमा वातावरण तथा फोहोरमैला कानुन विद् गणेश दाहालले पनि सहरीकरणसँगै बढ्ने प्रचारका अस्वस्थ गतिविधिले सहरको स्वरुप नै कुरुप तुल्याइ दिने र राजनीतिक दलका प्रचार सामग्रीले सहरको सुन्दरतालाई नै अस्तव्यस्त पारिदिने भएकाले यसलाई समयमा नै सचेत भएर व्यवस्थापन गर्नुपर्ने जरुरी रहेको कुरामा जोड दिनुभयो ।
ग्रिनल्यान्ड फाउण्डेसन नेपालकी अध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा सुरु भएको कार्यशालाको इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले उद्घाटन गर्नुभएको थियो । रासस
No comments:
Post a Comment