काठमाडाँै, ३ असार । अक्षराङ्कन प्रणालीबारे जानकारी नगराउँदा प्रवेशिका परीक्षाको नतिजामा अन्योल भएको छ ।
शिक्षा पत्रकार सञ्जालले आज आयोजना गरेको कार्यक्रममा शिक्षा सचिव विश्वप्रकाश पण्डितले अक्षराङ्कनमा जाने निर्णय हामीले ढिलो गरेकोले यसबारे विद्यालयसम्म सञ्चार गराउन सकैनौँ भन्नुभयो ।
उहाँले नतिजाबारे अन्योल भएकाले कुन ग्रेडमा कुन विषय पढ्ने भन्नेबारेमा पनि विद्यार्थी अलमलमा परेको बताउनुभयो ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले अक्षराङ्कन नौलो भएकाले बुझ्न समय लाग्ने बताउनुभयो । उच्चमाध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले अक्षराङ्कनले विद्यार्थीलाई शैक्षिक र प्राविधिक कुन विषय छनोट गर्ने भन्ने आधार तय गर्ने बताउनुभयो ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक बाबुराम पौडेलले अक्षराङ्कन शिक्षा सुधारको एक खुड्किलो भएको बताउनुभयो । शिक्षाविद् डा विद्यानाथ कोइरालाले नयाँ प्रणालीबाट शिक्षाको गुणस्तर सुधारात्मक दिशातर्फ गएको बताउनुभयो ।
अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले मूल्याङ्कन पद्धति राम्रो भए पनि तयारीको पूर्वाभ्यास कम भएको बताउनुभयो । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)का महासचिव डिके ढुङ्गानाले नतिजाबारे विद्यार्थीलाई आफूहरुले बुझाउन नसकेको र प्रणालीका बारेमा तयारी नगरिएको बताउनुभयो । रासस
No comments:
Post a Comment