Thursday, June 30, 2016

प्रजातान्त्रिक आन्दोलनमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान : प्रम

काठमाडौँ, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण योगदान पु¥याउनुभएको स्मरण गर्नुभएको छ ।

जिपी कोइराला फाउन्डेसनले गिरीजाप्रसाद कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालको लोकतान्त्रीकरणमा गिरिजाप्रसाद कोइरालाको योगदान तथा संविधान कार्यान्वयन’ विषयको विचार गोष्ठीमा उहाँले देश, जनता र लोकतन्त्रका लागि कहिल्यै भाँजो नहालेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मजदुर आन्दोलन, भारतमा भएको स्वतन्त्रताको आन्दोलन, राजनीतिक दलको गठन, आन्दोलन, परिवर्तनमा स्व कोइरालाको ठूलो योगदान रहेको छ ।” प्रधानमन्त्री ओलीले कोइरालाले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफैँ आन्दोलनको आँधी बेहरीमा होमिएर त्यसलाई कुन दिशामा अगाडि राम्रो हुन्छ भन्ने बारेमा ठूलो भूमिका खेलेको स्पष्ट पार्नुभयो ।

उहाँले जतिबेला राष्ट्र सङ्कटमा पर्छ त्यतिबेला आफ्नो विचारको बलले शान्तिलाई सही मार्गमा फर्काउन कोइरालाले ठूलो भूमिका खेलेको बताउनुभयो । “संविधान निर्माण गर्ने ठूलो इच्छा कोइरालामा रहेपनि उहाँ बितेर जानुभयो । अहिले मुलुकले संविधान पाएको छ, यसलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल एक हुनु आवश्यक छ”–प्रधानमन्त्री ओलीले थप्नुभयो ।

क्रान्ति र शान्तिको नेताः पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व कोइराला क्रान्ति र शान्तिका नेता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गिरिजाबाबुले राजनीतिमा कहिल्यै विश्राम लिनुभएन ।”

नेता पौडेलले नेपालको राजनीतिमा नेपाली काँग्रेसको सिद्धान्तको विकास हुँदै गएपनि पार्टी पराजित हुँदै गएकामा दुःख व्यक्त गर्नुभयो । उहाँले नेपालको लोकतन्त्र र शान्ति प्रक्रियामा कोइरालाको ठूलो भूमिका रहेको स्पष्ट पार्नुभयो ।

नेता पौडेलले सरकारले वार्ताको वातावरण बनाएर आन्दोलनरत मधेसी मोर्चाका मागलाई समेट्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संविधान निर्माणसँगै प्राप्त अधिकारलाई गुमाउन नदिन छलफल र वार्ता आवश्यक छ ।” उहाँले स्थानीय निकायको निर्वाचन गराउन गाउँपालिका, नगरपालिका र जिल्लाको संरचना बनाएर अगाडि बढ्नु जरुरी रहेको औँल्याउनुभयो ।

साहसी र दृढसङ्कल्पित नेताः गच्छदार

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कोइराला साहसी र दृढसङ्कल्पित नेता भएको बताउनुभयो । उहाँले कोइराला नभएको भए नेपालको लोकतान्त्रिक आन्दोलन सफल नहुने स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो, “मुलुकमा राजनीति स्थिरता अहिलेसम्म पनि पूरा भएको छैन, यसलाई पूरा गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ ।” गच्छदारले मुलुकको प्रजातन्त्रलाई बलियो बनाउन उपेन्द्र यादवसँग पार्टी विभाजन गरेको स्पष्ट पार्नुभयो ।

फाउण्डेसनका अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनीति विकासमा गिरिजाबाबुले खेल्नुभएको भूमिका अतुलनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा संविधान निर्माण भएको छ, यसलाई कार्यान्वयन गरी मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्छ ।”

कार्यक्रममा डा राम थपलियाले गिरीजाप्रसाद कोइरालाको व्यक्तित्वसम्बन्धी तयार पारिएको वृत्तचित्र प्रस्तुत गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts