चितवन, २७ जेठ । जिल्लामा सञ्चालनमा रहेका अधिकांश शैक्षिक परामर्श केन्द्र दर्ताबिना सञ्चालन भएको पाइएको छ ।
सञ्चालनमा रहेका करिब २०० मध्ये १४ वटा मात्रै दर्ता भएको जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमनारायण शर्मा ढुङ्गानाले जानकारी दिनुभयो । हालसम्म २६ वटा शैक्षिक परामर्श केन्द्रको अनुगमन गर्दा पाँच वटा मात्रै दर्ता भएको पाइएको छ । पहिलो चरणमा चितवन मेडिकल कलेज अगाडिबाट लायन्स चोकसम्मका संस्था अनुगमन गरिएको र बाँकी रहेका परामर्श केन्द्रको समेत नियमित रुपमा अनुगमन गरिने उहाँले बताउनुभयो ।
“दर्ता नभएका संस्थालाई अनुमति लिएर मात्रै सञ्चालन गर्न चिठी दिएका छौँ,” ढुङ्गानाले भन्नुभयो । गृहमन्त्रालयअन्तर्गत संस्था दर्ता गरेर परामर्श केन्द्र सञ्चालनको अनुमति शिक्षा मन्त्रालयबाट लिनुपर्ने प्रावधान रहेको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालको भनाइ छ । प्रवेशिका परीक्षा सकिएपछि तयारी कक्षा र विदेश अध्ययन गर्न जानेहरुका लागि आइएलटिएस, टोफेल पढाउन र परामर्श दिन यी संस्था खुलेका हुन् ।
प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले दर्ता नभई सञ्चालनमा रहेका संस्थालाई गरिने बताउनुभयो । जेठ महिनादेखि असोजसम्म तयारी कक्षा बढी चल्ने समय पारेर प्रशासनले अनुगमन गरेको हो । जिल्लाका शैक्षिक परामर्श केन्द्रमा चितवन, नवलपरासी, मकवानपुर, धादिङ, गोरखा, लम्जुङ, तनहुँबाट समेत विद्यार्थी आउने गर्छन् । अनुगमनको अभावमा स्वदेश र विदेश पढ्न जाने विद्यार्थी ठगिँदै आएका छन् । कतिपयले कन्सल्टेन्सी नाम राखेर कामदार विदेश पठाउने काम समेत गर्दै आएका छन् । रासस
No related posts.
No comments:
Post a Comment