पथरी (मोरङ), २७ जेठ । रेडियो नेपालका संस्थापक स्व तारिणीप्रसाद कोइरालको स्मृतिमा विराटनगर–५ स्थित खार्जी चोकमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम निर्माण हुने भएको छ ।
रेडियो नेपाल र विराटनगर उपमहानगरपालिकाको साझेदारीमा स्थापना हुन लागेको सञ्चारग्रामको यही जेठ २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुहुने कार्यक्रम तय गरेको विराटनगर उपमहानगरपालिकाले जनाएको छ ।
संस्थापकको सम्झनामा रेडियो नेपालले सञ्चारग्राम निर्माण गर्न लागेको हो ।
विराटनगर उपमहानगरपालिकाले बुधबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा करिब रु आठ करोडको लागतमा सञ्चारग्राम निर्माण गर्न लागिएको उपमहानगरपालिकाका कार्यकारी निर्देशक गोपाल रेग्मीले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाको सात कट्ठा जग्गामा निर्माण हुन लागेको सञ्चारग्राममा ‘मिट द प्रेस’ हल, गीत रेर्कडिङ, क्षेत्रीय सङ्ग्रहालय तथा गीतसङ्गीतका कार्यक्रम सञ्चालन हुनेछ ।
शिलान्यास भएको एक महिनाभित्र भवन निर्माणका लागि टेन्डर प्रक्रियामा जाने र ठेक्का सम्झौता भएको १८ महिनाभित्र सबै काम सम्पन्न हुने जनाइएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनासँगै कोइरालाले २००७ सालमा विराटनगरस्थित जुटमिलबाट प्रजातान्त्रिक रेडियोको नामबाट रेडियो नेपालको प्रसारण प्रारम्भ गर्नुभएको थियो ।रासस
No related posts.
No comments:
Post a Comment