Wednesday, June 1, 2016

माओवादी एकताले देशव्यापी उभार आएको दाहालको दाबी

काठमाडौँ, १९ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी समूहबीचको एकताले राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ उभार पैदा भएको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ र क्रान्तिकारी पत्रकार महासङ्घको संयुक्त भेलालाई आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले जनतालाई एकताबद्ध बनाएर लैजान पनि माओवादी एकताले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “हामीले विभिन्न खालका हन्डर तथा ठक्कर खायाँै । विभिन्न खालका अपमान पनि सह्यौँ । सहिद, बेपत्ता र घाइते परिवारको आक्रोशको पनि अनुभव ग¥यौँ । यसैले हामीलाई एकताको मार्गमा डोहो¥यायो । अब एकतालाई जनताको तहसम्म पुगेर मजबुत बनाउनु हामी सबैको दायित्व हो ।”

मुलुकमा जारी राजनीतिक, सामाजिक तथा आर्थिक समस्या समाधानका लागि माओवादीले नै नेतृत्व गर्ने उहाँले उल्लेख गर्नुभयो ।

माओवादी घटकको एकतापछि महाधिवेशन आयोजक समिति ठूलो भयो भन्ने टिप्पणी गलत भएको र अन्तरिमकालका लागि मात्रै समिति ठूलो बनाइएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो – “पार्टीलाई जनताको तहमा पुनः स्थापित गरेर मुलुकको एक नम्बरको पार्टी बनाउन पनि हामीहरु प्रतिबद्ध भएर लागेका छौँ ।”

माओवादीको एकतापछि देश, विदेशबाट सकारात्मक सन्देश प्राप्त भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले केही दिनभित्रै विभिन्न टुक्रामा विभक्त माओवादी तथा समूह एकता प्रक्रियामा आउने जानकारी दिनुभयो ।

एक फरक प्रसङ्गमा अध्यक्ष दाहालले मुलुकका सामु रहेको गम्भीर चुनौतीलाई सम्बोधन गर्न प्रमुख राजनीतिक दलबीच एकता आवश्यक रहेको बताउनुभयो ।

क्रान्तिकारी पत्रकार सङ्घको नाम परिवर्तन
क्रान्तिकारी पत्रकार सङ्घ र क्रान्तिकारी पत्रकार महासङ्घको आज भएको संयुक्त भेलाले दुवै सङ्गठन विघटन गरी ‘प्रेस सेन्टर’ नेपाल नामकरण गरेको छ । आगामी भदौ १० र ११ गते काठमाडौँमा सेन्टरको पहिलो महाधिवेशन गरिने र त्यसका लागि ४९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ ।

भेलाले १ नं प्रदेशमा राजेन्द्र किराती, २ नं मा देवराम यादव, ३ नं मा लक्ष्मण खड्का, ४ नं मा त्रिभुवन पौडेल, ५ नं मा मौसम रोका, ६ नं मा देवीराम देवकोटा, ७ नं प्रदेशमा पहल साउद र प्रतिष्ठान समितिमा रमेश लम्साललाई संयोजन गर्ने जिम्मा दिइएको सेन्टरका संयोजक गोविन्द आचार्यले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts