काठमाडौँ, २० जेठ । काठमाडौँ शिक्षा क्याम्पसले ‘व्यावहारिक लेखन अभ्यासका लागि विकासोन्मुख शैली’ शीर्षकमा तीन दिवसीय तालिम सञ्चालन गरेको छ ।
दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले चन्दागिरि नगरपालिकास्थित क्याम्पसमा सुरु भएको तालिममा काठमाडौँका १० सामुदायिक क्याम्पसका प्रतिनिधि, स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षकलगायत ७० जनाको सहभागिता छ ।
उक्त कार्यक्रममा विभिन्न विद्वान्का १० कार्यपत्र प्रस्तुत गरिने छ । करिब २५ वर्ष पुरानो सो सामुदायिक क्याम्पसमा कक्षा ११ देखि स्नातकसम्मको अध्ययन तथा अध्यापन गरिन्छ । त्रिवि मानविकी सङ्कायका डिन प्रा डा चिन्तामणि पोखरेलले समुदायको सक्रियतामा विकास गरिएको क्याम्पसमा स्थानीय विद्यार्थीको राम्रो आकर्षण रहेकाले त्यसको पूर्वाधार तथा संरचना निर्माणका लागि दातृ सङ्घसंस्थाबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद कान्ता भट्टराईले गरिब वर्गको पहुँचमा शिक्षाको ज्योति फैलाउन सामुदायिक क्याम्पसको खाँचो रहेको औँल्याउनुभयो । राप्रपा नेपालका नेता देवेन्द्र प्रधानले शिक्षा क्षेत्रमा व्यापारिक होडबाजी भइरहेको अहिलेको अवस्थामा विशेष गरी उक्त क्याम्पसले सर्वसुलभ मूल्यमा सर्वसाधारण तथा दुःखी गरिबलाई सहुलियतमा अध्यापन गराउँदै आएको बताउँदै सो संस्थाले जुनसुकै विषय अध्यापनका लागि सिफारिस मागेमा सम्बन्धन उपलब्ध गराउन माग गर्नुभयो ।
क्याम्पस प्रमुख शत्रुघ्न गुप्ताले नेपाली, अङ्ग्रेजी, स्वास्थ्य, शैक्षिक योजना तथा व्यवस्थापन, पाठ्यक्रम र मूल्याङ्कन विषयमा स्नातकोत्तर तहको पढाइ हुँदै आएको जानकारी दिँदै अविलम्ब बिएस्सी सिएसआइटी विषयमा अध्यापन गराइने बताउनुभयो । उक्त क्याम्पसमा करिब ५०० विद्यार्थी छन् । रासस
No related posts.
No comments:
Post a Comment