पोखरा, ४ असार । उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले संविधान कार्यान्वयनमा दलहरुबीचको एकता र सहकार्य अपरिहार्य हुने बताउनुभएको छ ।
लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १५औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले हालसम्मका उपलब्धि दलहरूबीचको एकताले नै सम्भव भएको हुँदा संविधानको कार्यान्वयनका लागि पनि त्यस्तै एकता र सहकार्य आवश्यक हुने बताउनुभयो ।
“दलहरूबीच एकता नहुने हो भने प्राप्त उपलब्धि पनि गुम्न सक्छन्”, उहाँले भन्नुभयो – “विकास निर्माणका लागि एकढिक्का हुनुको विकल्प छैन ।”
अबका दिनमा पूर्वाधार विकासका माध्यमबाट आर्थिक विकासको मार्गमा देशलाई उन्मुख गराउनुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री रायमाझीले ऊर्जा विकासका माध्यमबाट एक वर्षभित्र विद्युत्भार कटौती कम, दुई वर्षमा विद्युत्भार कटौती मुक्त र १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी निर्यात गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री रायमाझीले आव २०७३÷७४ को वार्षिक बजेटले सबै क्षेत्रलाई सम्बोधन गरेकाले यसको कार्यान्वयनमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले लेखनाथको साना सहरी खानेपानी आयोजना कास्कीको मात्र नभई देशकै नमुना योजना भएकाले अन्य ठाउँमा पनि यस्ता आयोजना अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
पूर्व मन्त्री तथा नेकपा (एमाले)का नेता खगराज अधिकारीले विकासको पूर्वाधार खानेपानी भएकाले सबै जनतालाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष बोधराज लामिछानेले खानेपानी आयोजनाबाट हालसम्म लेखनाथ नगरपालिकाका ४६ हजार घरपरिवारलाई आठ हजार ८२७ वटा खानेपानी धारा वितरण गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, एमालेका टीकाराम पङ्गेनी, संस्थाका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, संस्थाका पूर्व कोषाध्यक्ष गणेशबहादुर श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)का शिवजी लामिछानेलगायतले मन्तव्य व्यक्त गर्नुुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment