काठमाडौँ, १९ जेठ । हात्तीपाइले (फाइलेरिया) रोगबाट ग्रसित बिरामीका तथ्याङ्क सङ्कलन कार्य धादिङ र कञ्चनपुर जिल्लामा सम्पन्न भएको छ ।
हात्तीपाइले रोग लागेका बिरामी कति छन्, उनीहरुको अवस्था कस्तो छ, उपचार व्यवस्थापन कसरी भइरहेको छ र कसरी यसबाट हुने अपाङ्गतालाई रोक्न सकिन्छ भन्ने विषयमा पत्ता लगाई त्यसैअनुसारको कार्यक्रम सञ्चालन गर्न घरदैलो गणना गरिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका हात्तीपाइले रोग निवारण अभियान प्रमुख तुल्सीराम अधिकारीले कञ्चनपुरमा हातखुट्टा, स्तन, यौन अङ्ग सुन्निएका ७७० र हाइड्रोसिल भएका तीन हजार ७० बिरामी फेला परेका छन् भने धादिङमा हातखुट्टा, स्तन, यौन अङ्ग सुन्निएका विरामी ८८० हाइड्रोसिल भएका बिरामी एक हजार ४५० जना फेला परेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो—‘‘घरदैलो गणना कार्य सकियो । अब चिकित्सकबाट ती बिरामीको पुनः जाँचपछि आधिकारिक तथ्याङ्क बाहिर आउँछ ।’’
गत चैत २६ गते धादिङ र वैशाखमा कञ्चनपुरका घरघरमा गएर गणना गर्ने काम गरिएको थियो । नमुनाका रुपमा दुई जिल्लामा गणना गरिएको भए पनि अन्य जिल्लामा पनि विस्तार हुने अधिकारीको भनाइ छ ।
बिरामी नभएमा मानिसमा हात्तीपाइलेको जुका ‘उच्चेरिया बाँन्क्रोफ्टी’ छ कि छैन भनी यसअघि गरिएको सर्वेक्षणमा देशको जनसङख्याको १३ प्रतिशत अर्थात् झन्डै ३९ लाखमा उक्त जुका भएको देखाएको छ । तर अहिले गरिएको गणनाले हात्तीपाइलेका बिरामीको उपचार र व्यवस्थापनका लागि आवश्यक कार्ययोजना बनाउन सहयोग पुग्ने अधिकारीले जानकारी दिनुभयो ।
‘हात्तीपाइलेको जुका मानिसको शरीरमा देखिएको १० वर्षपछि लक्षण देखा पर्दछ, हामीले रोग नियन्त्रणका लागि औषधि सेवन कार्यक्रम सञ्चालन गरेका छौँ’ अधिकारीले भन्नुभयो ।
सरकारले ६४ जिल्लाका ७६ वटा अस्पतालमा शल्यक्रिया गरिने व्यवस्था मिलाएको छ । शल्यक्रिया गर्ने अस्पताललाई एक व्यक्तिको शल्यक्रिया गरेबापत रु पाँच हजार सरकारले दिने व्यवस्था गरेको छ । ‘५२ अस्पतालले शल्यक्रिया गर्ने कार्य सुरु गरिसकेको र अन्य अस्पतालमा पनि छिट्टै सुरु हुन्छ’ —अधिकारीले भन्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment